बाँके । नेपाल–भारत सिमानाको जमुनाहदेखि कोहलपुरसम्मको मुख्य राजमार्गलाई फराकिलो बनाइने भएको छ । राजमार्ग क्षेत्रमा मापदण्ड विपरीत निर्माण गरिएकोले ती संरचना भत्काएर राजमार्ग चौडा पार्ने प्रक्रिया सुरु गरिएको छ ।
जमुनाहदेखि कोहलपुरसम्मको मुख्य राजमार्गमा ८०६ वटा घर, पसल लगायतका संरचना मापदण्ड विपरीत निर्माण गरिएकोले ती संरचना भत्काएर राजमार्ग चौडा पार्ने प्रक्रिया सुरु गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।
कार्यालयले पहिलो चरणमा जमुनाहा नाकादेखि कोहलपुरसम्मको २२ किलोमिटर सडकलाई ५० मिटरको चौडा बनाउने प्रक्रिया सुरु गरेको हो । नेपालगन्ज–कोहलपुर सडकखण्डको बीच भागदेखि दायाँ–बायाँ २५/२५ मिटरको सडक क्षेत्रभित्र ८०६ वटा संरचना मापदण्ड विपरीत रहेका छन् ।
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले उक्त सडक क्षेत्रभित्र निर्माण गरिएका संरचनाहरू सरकारी कार्यालय, सङ्घ, संस्था, मठमन्दिर र निजी घर, पसलहरू समेत परेको जनाउँदै कतिपय स्थानमा फुटकर र दिनहुँ सञ्चालन गरिने पसलसमेत रहेको बताए ।
सो सडकमा १४ वटा सरकारी कार्यालय र अरु सबै संघसंस्था, मठमन्दिर र निजी घर पसल मापदण्ड विपरीत रहेकोले प्रशासनसँग समन्वय गरेर भत्काइने प्रमुख एसीले बताए । उनका अनुसार सडकको मापदण्डअनुसार बीच भागदेखि दुवैतिर २५÷२५ मिटर सडक र त्यसपछि ६ मिटर छोडेर घरहरु बनाउनुपर्छ । त्यो ६ मिटरलाई सडकले निषेधित क्षेत्र भन्ने गर्छ ।
।