सूचनाको शक्ति - The Power Of Information

        

समाचार

हिउँदे वर्षाले २० करोडको इँटामा क्षति

बाँके । केही दिनयता दुई पटक गरेर भएको हिउँदे वर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपैयाँ बरावरको क्षति व्यहोर्नुपरेको छ ।

पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशतभन्दा बढी काँचो इँटाहरु वर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ ।

नेपाल इँटा उद्योग ब्यवसायी संघ बाँकेका सचिव सूर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा इँट्टा व्यवसायीका अधिकांश काँचो इँटा काम नलाग्ने गरी नष्ट भएको बताए ।

वर्षाका कारण करिब २० करोड रुपियाँको क्षति भएको उनले बताए । एउटै व्यवसायीले पकाउन राखिएका ५ लाखदेखि १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको उनले जनाए ।

अहिले इँटा पकाउने सिजन भएकाले भट्टामा बलेको आगो समेत निभिसकेकाले फेरि जलाउनुपरेमा क्षति अझै बढेर जाने बताए ।

व्यवसायीका अनुसार खुला चौरमा भर्खरै तयार पारेर सुकाउन राखिएका अधिकांश इँटा र भट्टाभित्र आगोमा राखिएका इँटा नष्ट भएका छन् ।

कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको नेपाल इँट्टा उद्योग व्यवसायी संघका पूर्व अध्यक्ष प्रकाश शाहले बताए ।

बर्षाका कारण आफ्नो मात्रै करिब २५ लाख रुपैयाँको इँटा गलेर नष्ट भएको उनले बताए ।सोही अवस्था जिल्लाभरिकै व्यवसायीको रहेको उनको भनाइ छ ।

यो वर्षाले प्रत्येक इँटा व्यवसायीको ठूलो क्षती भएको जनाउँदै चाँद इँटा उद्योगका सञ्चालक चाँद खाँले यो क्षतिका कारण इँटा उत्पादन घट्ने र मूल्य बढ्ने बताए ।

इँटा उत्पादकहरूले सिजनमा सात राउण्डसम्म इँटा उत्पादन गर्ने गरेका छन् । ‘एक पटकमा छदेखि दश लाखसम्म इँटा तयार पारिन्छ, तर यस पटक शुरुमै क्षति भएको छ,’ नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकेका सचिव पौडेलले भने ।

इँटा व्यवसायीले बर्सेनी वर्षाको समयमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने कारण बीमा गर्न नपाउनु रहेको नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकले जनाएको छ । अहिले भएको क्षतिका कारण यस बर्ष पनि गएको वर्षझै बाँकेमा इँटा उत्पादन कम हुने संघले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतवार ०८:५२