बाँके । केही दिन पहिलेसम्म दिनहुँ कोरोना भाइरसका संक्रमितको संख्यामा बृद्धि भइरहेको बाँकेमा हाल संक्रमित हुने क्रम घट्दै गएको देखिएको छ ।
निको हुने संख्यामा दोब्बर बढेको अस्पतालले जनाएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेकाअनुसार गत तीन–चार दिनयता कोरोना संक्रमित थपिने क्रम घट्नुका साथै निको हुनेको संख्या बढ्दै गएको हो ।
समितिका कोरोना फोकल पर्सन तेज ओलीले हाल आएर जिल्लामा थपिने संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर बढी रहेको बताए । सोही कारणले तेस्रो लहरको आतङ्क पनि कम हुँदै गएको उनले बताए ।
बाँकेमा शनिबार २५ जना संक्रमित थपिएकोमा ६० जना निको भएका छन् भने शुक्रबार ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
सोही प्रकारले विहिबार पनि ४० जना थपिएकोमा ८६ जना निको भएर घर फर्केका थिए । हाल आएर भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर, जमुनाहा नाका र विभिन्न पालिका तथा एक निजि प्रयोगशालामा कोरोना परीक्षण भैरहेको छ ।
पछिल्लो समय संक्रमित हुने, अस्पतालमा भर्ना हुने र मृत्यु हुनेमा अधिकांश हालसम्म कुनै पनि कोरोना खोप नलगाएकाहरु रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
खोप अभियानलाई तिव्र पारिएसँगै स्वास्थ्य मापदण्डको पालनामा कडाई, सीमा नाकामा कडाई तथा परीक्षण र सचेतनाका कारण संक्रमण दर घट्दैगएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताए ।
तेस्रो लहरलाई ध्यानमा राखेर बाँकेमा पुर्व तयारीमा कुनै पनि कमी नरहेको जनाउँदै होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर, अस्पताल र स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको बताए ।
अहिले पहिलो प्राथमिकता कोभिडविरुद्धको खोपबाट जिल्लाका कुनै पनि नागरिक बन्चित नहुन् भन्ने नै रहेको प्रजिअ खत्रीले बताए ।
यसैवीच गत चार दिनदेखि बाँकेमा चलाइएको १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप अभियान अन्तर्गत जिल्लाका ९० प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
।