सूचनाको शक्ति - The Power Of Information

        

बिकासमा बेतिथि

वर्षौंसम्म सुध्रिएनन् रोल्पाका सडक, यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य

रोल्पा । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो ।

सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँडेकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो । ८ महिनाको छोरीसहित घर हिँडेकी उनलाई समयमै घर नपुगिने कुराले चिन्तित बनाएको थियो ।

जाडोको याममा बच्चासँगको यात्रा गर्न बाध्य उनलाई बेलुकाको बास कहाँ हुने हो भन्ने चिन्ता थियो । जिल्ला सदरमुकाम लिवाङबाट गङ्गादेव गाउँपालिका हिँडेका मनोजकुमार वली चढेको गाडी रोल्पा नगरपालिका–७ निम्रीस्थित सडकमा रहेको हिलोमा भासियो ।

उनले गाडीका स्टाफ र अन्य यात्रुसँगै हिलोमा फसेको गाडी तान्न तम्सिए । लगातार एक घण्टा डोरी लगाएर तानेपछि हिलोमा फसेको गाडी निस्कियो । आचार्य, थापा र वली मात्र हैन सदरमुकाम लिवाङबाट पश्चिम रोल्पाका चार स्थानीय तहसहित रुकुमपूर्व र रुकुमपश्चिम आवतजावत गर्ने यात्रुहरु अचेल यस्तै समस्या भोग्ने गर्दछन् ।

यसको मुख्य कारण हो रोल्पा नगरपालिका–७ मा पर्ने निम्री सडक । सो सडकले जिल्ला सदरमुकाम लिवाङलाई पश्चिम रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रुकुमपूर्व र पश्चिम दुई जिल्लालाई जोडेको छ । दैनिक दर्जनौँ गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरुलाई कष्टपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् ।

डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ । बाटोको अस्तव्यस्तताले यात्रा अनिश्चित हुने गरेको छ । अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरुसमेत बाटोको अवस्थाले कैयौँ अवसर गुमाउने गरेका छन् । बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन् ।

सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौं रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन । सोही सडक भएर पश्चिम रोल्पाका थवाङ, परिवर्तन, गङ्गादेव, त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरु जिल्ला समन्वय समितिको बैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्दछन् ।

सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ । जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ ।

जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झण्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन् । सङ्घीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर परिवर्तन हुन नसकेको जिल्लावासीको गुनासो छ ।

‘सङ्घ, प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता देखिँदैन,’ स्थानीय यातायात व्यवसायी भीम घर्तीले भने, ‘जतिभन्दा पनि सरकारले सुन्दै सुन्दैन ।’ सडकमा भएका खाल्डाखुल्डी पुरे पनि यातायात व्यवसायीलाई राहत मिल्ने उनको भनाइ छ । दशवर्षे सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिहरुका नाममा ती सडकको नामकरण गरिएको छ ।

शहीद मार्ग नामकरण गरिएका ती सडक आफैँ शहीद भएका छन् रुन्टीगढी गाउँपालिकाका स्थानीय युवा नन्दराम खड्काले बताए । ‘बाटोको अवस्था हेर्दा शहीदमाथि अन्याय भएको छ,’ उनले भने, ‘यो बाटोमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन् । तर पनि सरकारले कुनै चासो देखाएको छैन् ।’

उक्त सडकबाट यात्रा गर्दा धेरै पटक मृत्युको मुखबाट बचेको बताउँदै उनले कष्टपूर्ण यात्रा गर्नु यहाँको यहाँका लागि कुने नौलो विषय नभएको बताए । ‘विकासमा पछाडि पारिएको भन्दै रोल्पाबाट जनविद्रोह गरेका नेताहरु सत्तामा पुगे पनि विकासमा तात्विक अन्तर देखिएको छैन,’ स्थानीय महिला अगुवा तीर्था आचार्यले भने ।

सडक सञ्जालका नाममा डाँडाकाँडा छियाछिया भए पनि गुणस्तरीयताको अभावमा सडकहरु मृत्युमार्गका रुपमा देखिएका छन् । उनले दस वर्ष बन्दुकको त्रास भोगेका रोल्पाली अहिले सडक त्रासमा बच्न बाध्य भएका छन् भन्दै अप्ठेरो, असहज र अनिश्चित यात्राले महिलाहरु थप प्रताडित हुने गरेका छन् । तर यसतर्फ कसैको ध्यान नगएको बताए ।

लामो समयदेखि सोही सडकमा गाडी चलाउँदै आएका जीपचालक दीपक थापाका अनुसार सुधारिएको सडकमा कहिल्यै गाडी चलाउन पाइएन । ‘यात्रा सधैँ यस्तै कष्टकर हुने गर्दछ,’ उनले भने, ‘हिउँदमा सामान्य पानी पर्दा पनि पहिरो झर्ने र बाटो हिलाम्य हुने गर्दछ । बाटामा भएका ठूल्ठूला खाल्डाखुल्डी र ढुङ्गालाई छल्दै गाडी चलाउनुको विकल्प छैन ।’

सडक मर्मतमा सम्बन्धित निकायको लापरबाहीका कारण नागरिकहरु यस्ता समस्या भोग्न बाध्य छन् । यात्राको मारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी मात्रामा पर्ने गर्दछन् । असहज यात्रा, समयमा घर नपुगिने चिन्ता र असुरक्षाले उनीहरुको यात्रा कष्टकर बन्ने गर्दछ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १८:४६