सूचनाको शक्ति - The Power Of Information

        

समाचार

क्यान्सर उपचारमा फड्को मार्दै सुशील कोइराला क्यान्सर अस्पताल

बाँके । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा सुरु गरेको छोटो समयमै ठूलो फड्को मारेको छ ।

अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यताको करिब अन्त्य भएको अस्पतालका प्रमुख डा.कृष्ण आचार्यले बताए ।

एक वर्षको अवधिमा मात्रै सो अस्पतालले ५३२ जना बिरामीको शल्यक्रियासहितको उपचार गरेको तथा हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८०० जना शङ्कास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए–नभएको यकिन गरिसकेको उनले बताए ।

सर्जरी र हिस्टोप्याथोलोजी सेवा थपिएपछि पश्चिम नेपालका बिरामीले सहजै उपचार सेवा पाउन थालेको जनाउँदै उनले क्यान्सर पहिचान भइसकेका बिरामीलाई औषधिमार्फत दिइने किमो सेवालाई पनि निरन्तरता दिइरहेको बताए । पछिल्ला दिनमा करिब ३०० जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन् ।

काठमाडौँको नेपाल–कोरिया अस्पताल, नेपाल मेडिकल कलेजका महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकका साथै नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल स्त्रीरोग विशेषज्ञ र जनरल सर्जन चिकित्सकसँगको सहकार्य क्यान्सर अस्पतालले खजुरामै दुरबिन प्रविधिबाट पाठेघर र डिम्बासयमा क्यान्सरका बिरामीको अप्रेसन सेवा दिन सुरु गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १८:२९