सूचनाको शक्ति - The Power Of Information

        

हिमपातले सुदूरपश्चिमका राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

कैलाली । बिहीबारदेखि परेको अत्याधिक हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले स्थानीय प्रशासनसंग समन्वय गरिरहेको बताइन् ।

उनले हिमपातका कारण अवरुद्ध पहाडी जिल्लाका राजमार्गहरुमा सञ्चालमा ल्याउने प्रयास भइरहेको बताउदै बाटो खुल्न केही समय लाग्ने भएकाले सबैलाई धैर्य गर्न अनुरोध गरेकी छिन् । त्यस्तै यातायात व्यवसायीहरुसँग बाटो पूर्णरूपमा सञ्चालन नभएसम्म सार्वजनिक यातायात नचलाइदिन अनुरोध आग्रह गरिएको मन्त्री जोशीले बताइन् ।

भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे लेक लगायत बैतडी–बझाङ सडक खन्डको खोड्पे लगायतका स्थानहरुमा डोजरले हिउँ पन्छाउने काम भैरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ । यता जिल्ला प्रशासन कार्यालय बैतडीले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १८:०७