सूचनाको शक्ति - The Power Of Information

        

मौसम

आज दिउँसोदेखि मौसममा सुधार हुने

गत वर्षभन्दा चार गुणा धेरै वर्षा

काठमाडौं । आज दिउँसोदेखि मौसममा सुधार हुने भएको छ । बिहीबार र शुक्रबार वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

बिहीबार पश्चिम भेगमा र शुक्रबार देशैभरि वर्षा र हिमपात भएको थियो । अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मौसमविद् मानन्धरले बताउनुभयो ।

आज पहाडी भेगका केही ठाउँमा बदली भएर सामान्य वर्षा हुने उहाँले बताउनुभयो । भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुई दिनको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ ।यस वर्ष गएको वर्षको हिउँदको तुलनामा चार गुणा धेरै वर्षा भएको छ । गत वर्षको हिउँद अर्थात डिसेम्बरदेखि फेब्रुअरीसम्म १५ दशमलव चार मिलिमिटर वर्षा भएकोमा यो वर्ष शुक्रबार बिहानसम्म ५७ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको थियो ।

शुक्रबार देशैभरि वर्षा भयो भने थुप्रै ठाउँमा भारी वर्षा समेत भएको छ । सामान्यतया हिउँदमा ६० दशमलव नौ मिलिमिटर वर्षा हुन्छ ।

आज पनि देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार ०९:३८