सूचनाको शक्ति - The Power Of Information

        

दुखद् खबर

प्युठानमा बेहुली बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ घाइते

प्युठान । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी–६ ओखरपाटामा दुर्घटनामा परेको हो ।

जिप सडकबाट झण्डै तीनसय मिटर अग्लो भिरबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक बेनीप्रसाद गैरेले जानकारी दिए । ‘दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ गैरेले भने, ‘मृतकको सनाखत हुन बाँकी छ ।’

उनले ज्यान गुमाउनेमध्ये पाँचजना महिला र तीनजना पुरुष भएको बताए । जिपमा बेहुला बेहुली भएनभएको यकिन हुन बाँकी छ । ‘बेहुला–बेहुली लिएर आउँदै गरेको जिप भनिएको छ,’ त्यसमा बेहुला–बेहुली थिए/थिएनन् खुलेको छैन । हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ,’ प्रहरी निरीक्षक गैरेले भने ।

घटनास्थल जिल्ला सदरमुकामबाट झण्डै २५ किमी टाढा पर्छ । अप्ठ्यारो कच्ची सडकमा दुर्घटना भएको हो । गैरेका अनुसार घाइते पाँच जनालाई जिल्ला अस्पताल बिजुवार लगिँदै छ । घाइते पाँच जना अझै अस्पताल पुगिसकेका छैनन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार ०८:२४