सूचनाको शक्ति - The Power Of Information

        

एक दशकपछिमा सल्यानमा भारी हिमपात

सल्यान । सल्यानका माथिल्नो क्षेत्रमा हिमपात भएको छ । हिमपातले जनजीवन कष्ठकर बनेको छ । जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको हो । उच्च क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा निरन्तर वर्षा भएका कारण चिसो निकै बढेको छ ।

यहाँका बाफुँखोला, बुराँसे, जथाक, खर्सुबास, बथान, पातिहाल्न, निगालचुला, कुमाख लगायतका स्थानमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण घरबाहिरबाट निस्कन समस्या भएको बागचौर नगरपालिका–९ बथानका मदन शर्माले बताए ।

उनका अनुसार हिमपातले गर्दा पशुचौपायलाई के खुवाउने भन्ने चिन्ताले पिरोलेको छ । चिसोले जिल्लावासीको जनजीवन कष्टकर बनेको छ । हिमपात र वर्षाले मानिससँगै पशुचौपायालाई समस्या भएको छ ।

वर्षमा एक दुई पटक हिउँ पर्ने गरेको भएपनि यो वर्ष भने यसपटक समेत गरी तीन पटक हिमपात भएको छ । छत्रेश्वरी गाउँपालिका २ दमाचौर गुराँसेका चित्रवहादुर केसीले यो पटक धेरै हिमपात भएको बताए । उनका अनुसार १० वर्ष पहिले धेरै हिउँ परेको र यसपटक हिमपात धेरै भएको छ ।

हिउँ पर्दा जनजीवन कष्ठकर भएपनि किसान भने खुसी भएका छन् । उच्च भूभागमा लगाईने अन्नवाली, तरकारीका लागि हिमपात उपयोगी हुने किसानको भनाइ छ । दमाचौरका तेजबहादुर योगीले खेतीपातीका लागि सिंचाई आवश्यक भएकाले समयमा हिमपात हुँदा यसपटक उत्पादन बढ्ने बताए ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार ०८:०४