सूचनाको शक्ति - The Power Of Information

        

विश्व क्यान्सर दिवस

क्यान्सरकै कारण नेपालमा वर्षेनी १० हजार बढीको मृत्यु

काठमाडौं । धादिङ निलकण्ठ–७ का रामबहादुर तामाङलाई तीन वर्षअघि एक्कासी छाती दुख्यो । निरन्तरको दुखाइ र खोकी नरोकिएपछि उपचार गर्न उनी काठमाडौँ आए । पहिलो पटक तामाङ उपचारका लागि त्रिवी शिक्षण अस्पताल पुगे ।

औषधि सेवन र सामान्य परीक्षण गरेपछि उनको दुखाइ कम भयो । तर, केही समयपछि पुनः तामाङ उपचारका लागि अस्पताल आए । यो पटक भने उनको दुखाईमा कमी आएन् । चिकित्सक र परिवारको सल्लाहबमोजिम उनले छाती र शरीरको सम्पूर्ण भाग परीक्षण गरे ।

स्वास्थ्य परीक्षणको उनले सोचेभन्दा फरक नतिजा पाए । त्रिवि शिक्षण अस्पतालले उपलब्ध गराएको रगत र शरीरको अन्य भागको परीक्षणमा फोक्सोको क्यान्सर पुष्टि भयो । क्यान्सर पुष्टि भएपछि तामाङले उपचार गर्न अस्पताल पनि परिवर्तन गरे ।

गत तीन वर्षदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । पहिलो चरणमा रोग पत्ता लागेकाले किमो गरेर उनको रोग निको भएको छ । तर, समय–समयमा भने नियमित फ्लोअपको लागि अस्पताल आइरहन्छन् ।

क्यान्सरलाई प्राणघातक रोग मानिन्छ । यसबाट पीडित हुने बिरामीको संख्या विश्वरभर दिनप्रतिदिन बढ्दो क्रममा छ । विश्वभर यही रोगले वर्षेनी ५० लाख बढीले ज्यान गुमाउने गरेका छन् ।

नेपालमा पनि वर्षेनी १० हजार बढी क्यान्सर रोगकै कारण ज्यान गुमाउनेको संख्या बढ्दै नेपाल क्यान्सर रिलिफ सोसाइटीले जनाएको छ । केही दशक यता मुलुकभर लगायत विश्वलाई क्यान्सर चुनौती बन्दै गएको छ ।

समयमा उपचार गर्न सकेमा कतिपय क्यान्सर निको हुने र उपचारमा ढिलाइ भएमा ज्यानै जाने जोखिम पनि छ । नेपालको विभिन्न क्यान्सर अस्पतालमा वर्षेनी हज्जारौँ क्यान्सरका बिरामी उपचारका लागि धाउने गरेका छन् ।

उपत्यकाको एक मात्र डेडिकेटेड भक्तपुर क्यान्सर अस्पतालमा कोभिड–१९ महामारीको कारण दैनिक तीन सय जना परीक्षण गर्न आउने गरेका छन् । जसमध्ये १० जना क्यान्सरको बिरामी हुने गरेको अस्पतालले जनाएको छ ।

बालबालिका, वयस्क उमेरका महिला र पुरुष दुवै हुने गरेका छन् । दुई वर्षमा मात्र अस्पतालको ओपिडिमा १ लाख ३२ हजार ९१६ जनाले परीक्षण गराएका थिए । जसमध्ये क्यान्सरका बिरामी ५ हजार ९३५ छन् ।

कोभिड महामारी अघि वर्षेनी ८ हजार बढी बिरामी भर्ना हुने गरेका थिए । महामारीको कारण लकडाउन हुँदा उपचार गर्ने मानिसको कमी आएको थियो । अस्पतालकाअनुसार पछिल्लो समय मुलुकमा कोभिड संक्रमितको संख्या घटेसँगै उपचार गराउने बिरामीको संख्या घटेको बढेको थियो ।

पुनः संक्रमणदर बढेसँगै अस्पतालमा उपचार गराउन आउनेको कमी आएको छ । सबैभन्दा बढी फोक्सोको, महिलाको स्तन, पाठेघरको मुखको क्यान्सर, मलद्वार, घाटी, आन्द्रा, ब्रेन ट्युमर, रगत, पित्तथैली र थाइराइडको क्यान्सरका बिरामी उपचार गर्न आउने गरेका छन् ।

रोग पत्ता लाग्नसाथ उपचार गरेमा रोग निको हुने चिकित्सकहरूले बताउने गरेका छन् । भौगोलिक विकटताका कारण बिरामीहरू समयमा उपचारको पहुँचमा नपुग्ने र स्वास्थ्य जनचेतनाको अभावले मानिसहरू उपचार गर्न समयमा पुग्दैनन् ।

क्यान्सरको पहिलो चरणमा अस्पताल पुगेर उपचार प्रक्रिया बढाएमा अधिकांश क्यान्सर रोगका बिरामी हुने अस्पतालका निर्देशक डा. विष्णु दत्त पौडेल बताउँछन् । डा. पौडेलका अनुसार क्यान्सर शरीरका विभिन्न भागमा हुने गरेको छ ।

शरीरका अंगमा लाग्ने क्यान्सर विभिन्न प्रकारका छन् । महिलाहरुमा सबैभन्दा बढी देखिने क्यान्सर पाठेघर तथा स्तनको क्यान्सर रहेको छ । पुरुषहरूमा फोक्सो पेट, तथा मुखको क्यान्सर भएको पाइएको छ ।

‘सूर्तिजन्य पदार्थको सेवन, अन्सन्तुलित आहार, बद्लिँदो जीवनशैली, तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा विषादी रहेको खानेकुरा सेवन गर्दा, सडे गलेको खानेकुरा खादा हुन्छ,’ उनले भने ।

उनका अनुसार शारीरिक व्यायामको कमीलगायतका कारण पछिल्लो समय मानिसहरूमा क्यान्सरको जोखिम बढ्दै गएको छ । मोटोपन एक कारक तत्त्वमा पर्छ । पाठेघर र कलेजोको क्यान्सर बाहिरी भाइरसको कारण हुने उनले बताए ।

‘ह्ययुम्यन पेपिलोमा’ नामको भाइरसको कारण महिलामा पाठेघरको क्यान्सर हुने गरेको छ । ‘३० वर्ष पुगिसकेका दिदीबहिनीहरूले एक पटक पाठेघरको परीक्षण गराउनै पर्छ,’ उनले सुझाव दिए, ‘यसले क्यान्सर लाग्नुभन्दा अघि पत्ता लगाउन सहयोग गर्छ ।’

मानिसहरूको आयु बढनु पनि क्यान्सरको जोखिम रहेको उनको भनाइ छ । नेपालमा क्यान्सरको उपचार गर्न सरकारले एक लाख रुपैयाँसम्म निशुल्क उपचार व्यवस्था गर्दै आएको छ । उपचार पद्धति मँहगो भएकाले कतिपय अस्पतालले बिरामीको अवस्था हेरेर अस्पतालले निशुल्क उपचारसमेत गर्दै आएको छ ।

क्यान्सर के हो ?

यसमा कोषिकाहरुको एक समूहको अनियन्त्रित वृद्धि भएपछि सामान्य भन्दा धेरै फैलिएपछि स्वस्थ कोशिकाहरुलाई पनि क्षति पुर्याएपछि क्यान्सर रोग बन्छ ।

क्यान्सरका लक्षणहरू ?

घाँटी तथा अन्य अंगमा गाँठागुठी देखिन्छ । अचानक तौल घट्नु, दिसा पिसाबमा रगत देखिन्छ । थकान महसुस भएर धेरै ज्वरो आउनु र निको नहुनु, मुख र जिब्रोमा घाउ आउनु शरीरमा रगतको कमी हुनु लगातार खोकी लाग्नु र औषधि खाँदा पनि निको हुँदैन । महिनावारी हुँदा बढी रगत जानु र दिशा पिसावको रंग बदलिनु ।

रोकथाम तथा बच्ने उपाय

क्यान्सरको आशंका हुनासाथ क्यान्सर नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । अन्य अंगको पनि नियमित जाँच गर्नुपर्छ । शरीरमा अनावश्यक गाँठागुठी आएमा, बढेमा, रंग परिवर्तन भएमा जँचाई हाल्नुपर्छ । पेनकिलरको प्रयोग धेरै गर्नु हुँदैन । स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । शारीरिक व्यायाम, योगा र ध्यान गर्नुपर्छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार ०९:२१