सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने

काठमाडौं । अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्ता युरोपमा थप दुई हजार सेना पठाउने तयारी गरेको पेन्टागनले जनाएको छ । उनीहरुलाई पोल्यान्ड र जर्मनीमा पठाइनेछ भने अहिले जर्मनीमा रहेका एक हजार सैनिक रोमानियामा खटिनेछन् ।

अमेरिकाको यो निर्णयलाई रुसले ‘विनासकारी कदम’ को संज्ञा दिएको बीबीसीले जनाएको छ । रुसले युक्रेन सीमा नजिक झण्डै एक लाख सैनिक तैनाथ गरेको अवस्थामा अमेरिकाले युरोपमा सेनाको सङ्ख्या बढाउन लागेको हो ।

अहिले खटाउने तयारीमा रहेका अमेरिकी सैनिकले युक्रेनमा अमेरिकी साझेदारको रक्षा सुनिश्चित गर्न काम गर्नेछन् । गएको महिना तयारी अवस्थामा राखेका साढे आठ हजार सैनिकबाहेक नै अमेरिकाले थप दुई हजार सेना युरोप पठाउन लागेको पेन्टागनले जनाएको छ ।

रुसका उप–विदेशमन्त्री अलेक्जेन्डर ग्रुस्कोले युरोपमा थप अमेरिकी सैनिकको तैनाथीले सैन्य तनाव बढाएको र राजनीतिक समस्या समाधानको दायरा साँघुरो पारेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ ।

रुसले युक्रेन नेटो गठबन्धनमा सामेल हुन खोजेको भन्दै त्यसको विरोध गर्दै आएको छ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १०:०२