बाँके । बाँकेको खजुरा गाउँपालिका–७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीय पूर्णिमा सुनारले बताइन् ।
हिउँदको समयमा समस्या नभए पनि वर्षात्को समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उनको भनाइ छ ।
पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा र खजुरा बजार आवतजावत गर्न अब धेरै सजिलो भएको छ ।
खजुरा–७ सिन्दुरेस्थित जेठी नालामा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

पुल बनेपछि स्थानीयले गाउँपालिका सरकारको अनुभूति गर्न पाएको खजुरा–७ का अध्यक्ष अतिउल्ला खानले बताए ।

उपभोक्ता समितिमार्फत २८ लाख ३४ हजार ६०७ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकृत दिलबहादुर पौडेलले बताए ।

।