बझाङ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा एमाले निकट विध्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) बझाङले प्रदर्शन गरेको छ ।
काेराेनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै अनेरास्ववियु बझाङले आँगाेकाे राँका सहित प्रदर्शन गरेको हो ।
सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै आज बुधबार अनेरास्ववियु बझाङ राकेजुलुस सहित सडकमा उत्रिएको हो । काेराेनाका कारण दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महंगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको अनेरास्ववियुका बझाङ जिल्ला संयाेजक दिल बहादुर खातीले बताउनुभयाे ।
सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको अनेरास्ववियुका बझाङ जिल्ला सहसंयाेजक पुष्कर दाैल्यालले बताउनुभयाे । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उहाँको भनाई छ ।
साथै भाेलि जिल्ला प्रशासन कार्यालय बझाङ अगाडि धर्ना दिने कार्यत्रम रहेकाे समेत अनेरास्ववियुले जनाएकाे छ । बझाङकाे सदरमुकाम चैनपुरमा भएको प्रदर्शनमा सहभागिहरुले, जनता मार्न पाईदैन, भ्रष्टाचारी सरकार राजीनामा दे, हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौ’, सरकार तेरो पाराले दुःख पाए साराले’ जस्ता नारा लगाएका थिए ।
।