सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीको तरङ्ग

सत्ता गठबन्धनबीच दरार, चिसिँदै सम्बन्ध

प्रधानमन्त्री देउवाका दूत खुमलटार र कोटेश्वरतिर 

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच खटपट सुरु भएको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिषयलाई लिएर सत्तारुढ गठबन्धनबीचको सम्बन्धमा दरार आउने देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सदनको यही सत्रबाट अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने मुड बनाएपछि सत्तारुढ पाँच लदलिय गठबन्धनबीचको सम्बन्ध चिसिन थालेको छ ।

सत्तारुढ दल सहमत नभएमा एमालेसँग मिलेर भए पनि एमसीसी पास गराउने रणनीतिमा देउवा लागेपछि एमसीसीको विषयलाई लिएर गठबन्धनबीच खटपट देखिएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी देउवासँग सशंकित भएका छन् ।

विवादित विषयहरु संशोधन नगरी एमसीसी अघि बढाउन नहुने पक्षमा देखिएका यी दुई दल र जसरी पनि पास गर्ने कांग्रेसको अडानका कारण सत्ता गठबन्धनमा खटपटी सुरु भएकाले प्रधानमन्त्री देउवाले आफ्ना दूतहरु परिचालन गर्न थालेका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पास गराउने पक्षमा राजी गराउन खुमलटार र कोटेश्वरतिर आफ्ना दुतहरु पठाएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालकहाँ दूत पठाएका हुन् ।

देउवाले मंगलबार माओवादी अध्यक्ष प्रचण्डसँग संवादका लागि नेताहरु पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई खुमलटार पठाएका थिए । खुमलटारमा अध्यक्ष प्रचण्डसँग भएको छलफलबारेमा दुवै पक्षले केही खुलाएका छैनन् ।

तर एमसीसी र जेठमा हुने भनिएको स्थानीय निर्वाचन नै मुख्य एजेण्डा रहेको स्रोतले जनाएको छ । अर्कातिर प्रधानमन्त्री देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका छन् ।

पछिल्लो एक सातायता अमेरिकी परियोजना एमसीसीलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा विवाद बढिरहेका बेला खाँण अध्यक्ष नेपाललाई भेट्न पुगेका हुन् । खाँण प्रधानमन्त्री शेरबहादुर देउवाले दूतका रुपमा नेपाल निवास गएका हुन् ।

खाँण बिहान साढे १० बजे कोटेश्वर पुगेर ११ बजे मन्त्री निवास पुल्चोक फर्किसकेका छन् । बुधबार बिहान खाँण र नेपालबीचको भेटलाई लिएर दुवै नेताको सचिवालयले भेटमा भएको विस्तृत छलफलबारे केही खुलाएका छैनन् ।

यो भेटमा आगामी जेठ ४ मा गर्ने भनिएको स्थानीय तहको निर्वाचनबारे कुराकानी भएको थियो । अध्यक्ष नेपालका स्वकीय सचिव एवम् एकीकृत समाजवादी केन्द्रीय सदस्य मोहन गौतमले यसलाई नियमित भेटघाट भनेका छन् ।

‘सत्तारुढ दलका दुई नेताबीचको यो भेटघाट नियमित हो । यसमा कुनै एजेण्डामा छलफल भएन,’ उनले भने, ‘एमसीसीबारे यो भेटका कुरा भएको छैन । अन्य राजनीतिक र समसामयिक विषयमा केही कुरा भएको छ ।’

करिब ५६ अर्ब रुपैयाँको एमसीसी परियोजनालाई संसदबाट अनुमोदन गराउन देउवाले अड्डी कसेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल र अध्यक्ष नेपाल बिच्चिएका छन् । उनीहरु कुनै हालतमा एमसीसी परियोजना पास हुन नदिने पक्षमा छन् ।

अर्कातिर पहिले संविधानसँग बाझिएका प्रावधान संशोधन गरेर मात्रै स्थानीय निर्वाचन मिति घोषणा गर्ने सहमति विपरीत देउवाले जेठ ४ मा निर्वाचन गर्ने घोषणा गरेपछि सत्तारुढ दलबीचको सम्बन्ध चिसिएको छ ।

यसलाई लिएर सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी असन्तुष्ट देखिएको छ । माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल गठबन्धन फुटे पनि एमसीसी यथाअवस्थामा पास नगर्ने पक्षमा उभिएका छन् । उनीहरुले अहिलेको अवस्थामा संशोधन नगरी एमसीसी पास गर्नै नसकिने अडान लिएका छन् ।

तर देउवाले भने एमालेसँग साथ लिएर भए पनि एमसीसीलाई सदनको यही सत्रबाट पास गराउने रणनीति बनाएका छन् । प्रधानमन्त्री देउवाले आगामी फेब्रुअरी अन्तिमसम्म एमसीसी पास गर्ने योजना बनाएका छन् । यस्तोमा सत्ता गठबन्धनबाटै एमसीसी पास गराउन उनले पहल थालेका हुन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १३:४३