सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आयल निगम भन्छ, ‘मुल्य बढे पनि मासिक पाँच अर्ब ऋण खोज्नुपर्छ’

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि गरेको नेपाल आयल निगमले अझै मासिक साढे ४ देखि ५ अर्ब रुपैयाँसम्म ऋण खोज्नुपर्ने अवस्था रहेको दाबी गरेको छ । निगमले सानो अंश मात्रै मूल्य समायोजन गरिएको दाबी गरेको हो ।

अझै पेट्रोल तथा डिजेलमा ठूलो रकम नोक्सानीमै रहेको दाबी निगमले गरेको छ । मूल्य समायोजनपछि पनि पाक्षिक (१५ दिनको) घाटा २ अर्ब २३ करोड यथावत् रहने नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाइराख्न आगामी दिनमा निगमलाई कठिनाइ हुने देखिन्छ’, निगमले भनेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य भने १२५ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको छ । योसँगै हवाइ इन्धन आन्तरिक प्रतिलिटर ११६ तथा अन्तर्राष्ट्रियतर्फको प्रतिकिलोलिटर १०९५ अमेरिकी डलर कायम गरिएको छ ।

मूल्य वृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा र डिजेलमा ११ रुपैयाँ १३ पैसा नोक्सानी छ भने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ५६० रुपैयाँ घाटा रहेको निगमको दावी छ । मट्टितेल र हवाई इन्धनमा मात्र नाफा भइरहेको आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

आयल निगमका अनुसार मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र बाह्य हवाई इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा रहेको छ । मूल्य बढेपछि पनि भारतको सीमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा र डिजेल २५ रुपैयाँ ३१ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

विज्ञप्ती हेर्नुहोस् :

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १३:०६