सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय निर्वाचन तयारीका लागि सुरक्षा समिति बैठक बस्दै

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने भएपछि गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

गृह मन्त्रालयमा बुधबार दिउँसो १ बजे सुरक्षा समितिको बैठक बस्न लागेको हो । सरकारले आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन तयारी गरेपछि चुनावी सुरक्षाबारे छलफलका लागि गृहमन्त्रीले यो बैठक बोलाएका हुन् ।

बैठकमा सबै सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन् । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मंगलबार गरेको छ ।

देउवाले पनि उक्त प्रस्तावमा सहमति जनाउँदै बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणासम्बन्धी निर्णय लिने बताएका छन् । यस्तै सुरक्षा समितिको बैठकमा कोभिडको तेस्रो महामारी रोकथामका विषयमा पनि छलफल हुने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १२:५३