सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक समृद्धि

फत्तेपुरका सामुदायिक विद्यालयलाई ‘अब्बल’ बनाउँदै वडापालिका

बाँके । बिगतका केही वर्षदेखि नेपालमा संस्थागत विद्यालयप्रतिको मोह बढेको छ । संस्थागत विद्यालयमा राम्रो पढाई हुने भन्दै नेपालका अभिभावकहरुको मोह बढ्ेको देखिन्छ । एकातिर संस्थागत विद्यालयप्रतिको मोह, अर्कोतिर सामुदायिक विद्यालयप्रतिको नकारात्मक दृष्टिकोणले नै नेपालका शिक्षा क्षेत्रप्रतिको बितृष्णा बढ्दै गएको छ ।

शिक्षा आर्जन गर्ने अवसरबाट बालबालिकाहरु बञ्चित नहोउन भन्नका लागि सरकारले सामुदायिक विद्यालयमा ठूलो लगानी गरेको छ । अर्कोतर्फ सामुदायिक विद्यालयमा राम्रो पढाई हुँदैन भनेर बालबालिकालाई संस्थागत विद्यालयमा पठाउने कार्यले सरकारले गरेको कार्यप्रति अविश्वास बढेको जस्तो देखिन्छ ।

सरकारले दुरदराजमा रहका गाउँ, समुदायका लागि सहजै शिक्षा आर्जन गर्ने अवसर मिलोस् भनेर ग्रामीणस्तरका विद्यालयको गुणस्तरमा पनि ध्यान दिइरहेको छ । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ ।

बाँकेका कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएर अब्बल देखाउन सफल भएका छन् । विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन् ।

सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएर अब्बल बन्न थालेपछि यतिबेला अभिभावक सामुदायिक विद्यालय खोज्दै हिँड्न थालेका छन् । जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ । यद्यपी, पछिल्ला केही वर्षयता ग्रामीण क्षेत्रमा पनि संस्थागत विद्यालय खुल्ने क्रम बढेको छ ।

बाँकेका कतिपय निजी स्कूललाई सरकारीसँग प्रतिस्पर्धा गर्न धौधौ परेका बेला कम शुल्कमा निजी स्कूलको भन्दा राम्रो शिक्षा, भविष्यमा उच्च शिक्षा अध्ययनका लागि सरकारले दिने छात्रवृत्ति लगायतका अवसरले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप ह्वात्तै बढ्न थालेको छ ।

सरकारले संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनमा विभिन्न अवसर र छात्रवृत्तिमा प्राथमिकता दिन थालेपछि माथिल्लो कक्षामा पुगेका विद्यार्थी सरकारी विद्यालयमा भर्ना हुन थालेका छन् । साथै संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयमा शुल्क न्यून हुनु पनि अर्को कारण हो ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिसँगै अभिभावकले छोराछोरीलाई संस्थागत विद्यालयबाट निकालेर सामुदायिकतिर भर्ना गर्ने क्रम बढ्न थालेको छ । शैक्षिक गुणस्तरसँगै संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयमा शुल्क न्यून भएकै कारण पछिल्लो समय छोराछोरीलाई अभिभावकहरुले सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् ।

तर, आकर्षक विज्ञापन र प्रतिष्पर्धाले निजी विद्यालयमै पढाउनुपर्ने वा विद्यार्थी पनि निजीमा पढ्दा मात्र राम्रो हुन्छ भन्ने धेरै अभिभावकहरुमा बाध्यता वा भ्रममा रहेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७, भेलुनियास्थित बाल शान्ति आधारभूत विद्यालयको प्रधानाध्यापक सञ्जीव चौधरीको भनाई छ ।

राम्रो छनोट गर्न सक्ने हो भने निजीले थोपर्ने व्ययभारबाट मुक्त पनि हुन सकिने उनले बताए । ‘हामीले राम्ररी व्यवस्थापन गरेर विद्यालय चलाएका छौँ, रिजल्ट राम्रो छ, अध्ययनका लागि राम्रो वातावरण छ, धेरै मिहिनेत गरेर पढाउँछौँ । कुनै निजी विद्यालयभन्दा हामी कुनै कुरामा कम छैनौँ,’ उनले भने ।

उनका अनुसार अधिकांश नेपालीको आयस्तर न्यून भएकै कारण महङ्गो विद्यालयमा पढाउन सक्ने हैसियत धेरैको छैन । प्रधानाध्यापक चौधरीले भने, ‘बढी शुल्क लिने विद्यालय राम्रो होला भन्ने भ्रम छ, तर त्यस्तो होइन, सामुदायिक विद्यालयले न्यून शुल्कमै राम्रो अध्यापन गराइरहेका छन् ।’

प्रधानाध्यापक चौधरीका अनुसार सामुदायिकमा तालीमप्राप्त शिक्षकको संख्या धेरै छ । त्यसैले व्यवस्थापन राम्रो भएका विद्यालयका शिक्षकको गुणस्तरमा प्रश्न गर्नुपर्ने अवस्था नभएको भन्दै उनले भने, ‘समय–समयमा सरकारले नै त्यस्ता शिक्षकलाई तालीमको व्यवस्था गर्ने भएकाले उनीहरूमा अतिरिक्त योग्यता हुन्छ ।’

उनका अनुसार आफुले लिएको तालीमअनुसार मन, वचन र कर्मले पढाउने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ह्वात्तै वृद्धि हुनेका कुनै शंका रहँदैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै बालबालिकाहरुको संख्या पनि बढुन थालेको छ । केही समयअघिसंस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाको संख्या निकै बढी थियो ।

प्रायः सबै स्थानीय तहमा सामुदायिक विद्यालयको अनुपातमा संस्थागत विद्यालय खोलिएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ७ का अभिभावकहरुले भने सामुदायिक विद्यालयलाई महत्व दिएका छन् । जसका कारण संस्थागत विद्यालयमा बालबालिकाको संख्या न्युन रहेको पाइन्छ ।

यस वडामा ८ वटा सामुदायिक विद्यालय रहेका छन् भने दुई वटा मात्रै संस्थागत विद्यालय रहेको पाइन्छ । यस वडामा सामुदायिक विद्यालय अन्य वडाको तुलनामा धेरै छन् । यहाँ दुई वटा माध्यमिक विद्यालय दुई वटा निम्न माध्यमिक विद्यालय, दुई वटा प्राथमिक विद्यालय, दुई वटा मदरसा सञ्चालनमा छन् ।

गाउँपालिकाका अन्य वडाहरुमा भन्दा यो संख्या धेरै हो । जसअनुसार अमर ज्योति माध्यमिक विद्यालय लालपुर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सर्री रहेका छन् । यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालय फत्तेपुर र बाल शान्ति आधारभूत विद्यालय भेलुनिया गरी दुई वटा निम्न माध्यमिक विद्यालय सञ्चालित छन् ।

त्यस्तै ज्ञानोदय प्राथमिक विद्यालय देवपुर र दिप प्रकाश प्राथमिक विद्यालय लालपुर गरी दुई वटा प्राथमिक विद्यालय छन् । यस्तै मुस्लिम समुदायलाई पनि लक्षित गरी दुई वटा धार्मिक विद्यालय सञ्चालित छन् । यस वडाको पिप्रहवा र झगडिया गाउँमा गरी दुई वटा मदरसा सञ्चालनमा रहेका छन् ।

यसैगरी संस्थागत विद्यालयतर्फ दिपशिखा आधारभूत विद्यालय सर्रा र राईजिङ्ग ग्यालेक्सी प्राथमिक विद्यालय नन्कौपुर गरी दुई वटा रहेका छन् । यस वडाको कुल जनसंख्याको ९४ प्रतिशत साक्षरता दर रहेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।

वडाध्यक्ष थारुले आफ्नो वडामा नेपाल सरकारले संचालन गर्दै आएको सामुदायिक विद्यालयलाई प्राथमिकता दिइएको बताए । उनले भने, ‘संस्थागत विद्यालय भनेका नाफामुखी हुन्छन्, सामुदायिक विद्यालय गैरनाफामुलक हुन्छन् र त्यसको स्वामित्व सरकारले लिएको हुन्छ, जसका कारण विद्यालय कसैको हातमा हुँदैन ।’

वडाध्यक्ष थारुका अनुसार सामुदायिक विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मा सरकार पक्षको हुँदा हामी पनि सामुदायिक विद्यालयको गुणस्तरलाई कसरी माथि उठाउन सकिन्छ भनेर दिनरात खटेर लागेका छौं । नागरिकका छोराछोरीले निशुल्क र गुणस्तरीय शिक्षा दिनु सरकारको दायित्व पनि हो ।’

उनले संस्थागत विद्यालय व्यक्तिको कब्जामा हुने भएकाले व्यक्तिगत योजना अनुसार सञ्चालन भएका हुन्छन् । यद्यपि धेरै कुरामा सरकारले एकरुपता हुनुपर्छ भनेर निर्देशिका पनि बनाएको वडाध्यक्ष थारुले बताए । अभिभावकको आकर्षण संस्थागत विद्यालयतिर मोडिन थालेपछि वडापालिकाले शिक्षण सिकाई कार्यलाई व्यवस्थापन सुरु गरेको छ ।

बाल विकास केन्द्रलाई राम्रो बनाउन चाहेजति शैक्षिक खेल सामाग्री हुनुपर्ने वडापालिकाको निष्कर्ष छ । पहिचो चरणमा वडाले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सर्रालाई बालमैत्री विद्यालय बनाउने प्रयास थालेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको आधार (जग) राम्रो नदेखिने भएकाले बाल विकास कक्षादेखि नै ध्यान दिइरहेको छ ।

वडाध्यक्ष थारुले वडाको सबै विद्यालयलाई बालमैत्री विद्यालय बनाउन लागिपरेको भन्दै यसले संस्थागततिरको आकर्षण घटाउन विद्यालयमा शैक्षिक गतिविधिमा समेत फेरबदल गरिएको छ । उनले भने, ‘शिक्षक तथा कर्मचारीको लापरवाहीका कारण अभिभावकको आकर्षण सामुदायिक विद्यालयतर्फ घट्न थालेकोजस्तो देखिन्छ । यसमा हामी सचेत छौं ।’

उनकाअनुसार सामुदायिकतिर अभिभावकको आकर्षण घटेको गुनासा आएका छन् । उनले भने, ‘विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षण सिकाईमा बेवास्ता गर्ने तथा कतिपय विद्यालयमा आवश्यक शैक्षिक सामाग्रीको कमी हुनुजस्ता कुरालाई सुधार गर्ने लैजानका लागि हामी लागिपरेका छौं ।’

सर्रास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अंग्रेजी बिषयको अध्ययन पनि सुरु गरिएको छ । अन्य विद्यालयहरुमा पनि बालमैत्री विद्यालय बनाउने अभियान सुरु गर्नुपर्ने जनप्रतिनिधिहरुको जोड छ । शैक्षिक क्षेत्रलाई अझ राम्रो बनाउनका लागि वडास्थित बाल शान्ति विद्यालयमा १० लाख लागतमा पर्खाल निर्माण गरिएको छ ।

नेपाल राष्टिय माध्यमिक विद्यालय सर्रीमा २० लाख लागतमा दुई कोठे पक्की भवन निर्माण गरिएको वडापालिकाले जनाएको छ । वडाका शैक्षिक संस्थालाई आपसमा प्रतिस्पर्धी बनाउन वार्षिकरुपमा अतिरिक्त क्रियाकलाप गरिँदै आएको छ । यस कार्यक्रमले शैक्षिक संस्थाबीच प्रतिस्पर्धाको भावना जागृत भई शैक्षिक गुणस्तर बढ्ने देखिन्छ ।

बालशान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक चौधरी भन्छन्, ‘संघीय संरचनापछि स्थानीय तहले विद्यालयलाई सहयोग गरिरहेको छ । जनप्रतिनिधिहरु विद्यालयलाई कसरी सहयोग गर्न सकिन्छ भनेर लागिरहनुभएको छ । यो हाम्रा लागि राम्रो कुरा हो ।’ वडापालिकाले निरन्तर सहयोग गरेको भए पनि विद्यालयका लागि भने यो सहयोग प्रयाप्त बन्न सकेको छैन ।

विद्यालय सञ्चालनका लागि आवश्यक बजेट अभाव हुने गरेको छ । निःशुल्क शिक्षाका कारण विद्यालय प्रशासन सञ्चालनका लागि केही अभाव हुने गरेको अवस्था रहेको प्रधानाध्यापक चौधरीले बताए । कतिपय सामुदायिक विद्यालयमा भने व्यवस्थापकीय कमजोरी रहे पनि पछिल्लो समयमा सुधार्दै गएको पनि प्रधानाध्यापक चौधरीको भनाई छ । अहिले शिक्षाको सबै अधिकार स्थानीय तहमा सरेको छ ।

स्थानीय तहहरुले निजी तथा सरकारी विद्यालयको अनुगमन गर्न थालेपछि धेरै सामुदायिक विद्यालयको व्यवस्थापकीय कमजोरी सुधार हुँदै गएको शिक्षकहरु बताउँछन् । शिक्षकहरुका अनुसार शिक्षा क्षेत्रको सुधारका लागि अभिभावकलाई समेत जागरुक गर्न आवश्यक छ । शिक्षकहरुले खुलेआम राजनीति गर्न थालेपछि शैक्षिक गुणस्तर अत्यन्तै कमजोर बन्ने गरेकाले शैक्षिक गुणस्तर उकास्न शिक्षकहरु पनि स्वयं क्रियाशिल हुनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ११:४९