सूचनाको शक्ति - The Power Of Information

        

६ करोड डलर कम्पनीका मालिक ३१ वर्षीय दृष्टिविहीन सीइओको जीवन संघर्ष

बीबीसी । ३१ वर्षीय श्रीकान्त भोलाको जीवनमा आधारित बलिउड फिल्म निर्माण गर्ने तयारी भइरहेको छ । यी दृष्टिविहीन युवा सीइओले हाल ६ करोड ४० लाख डलरभन्दा बढी मूल्यको कम्पनी निर्माण गरेका छन् । तर उनको यहाँसम्मको यात्रा सजिलो थिएन ।

आँखा नदेख्ने हुनाले पनि बाल्यकालदेखि नै उनले असिमित रुपमा दिनहुँ नयाँ चुनौतीको सामना गर्नुपरिरह्यो । पहिलो कुरा त सानो छँदा नै उनलाई स्कुलले दृष्टिविहीन मानिसले गणित र विज्ञान पढ्नु अवैध हो भनेपछि आफूले चाहेको विषय पढ्न उनले एउटा सिङ्गै प्रदेशमाथि मुद्दा हालेर जितेका हुन् । उनी त्यतिसम्म आँटिला र साहसी छन् ।

६ वर्षका श्रीकान्त दुई वर्षसम्म हरेक दिन आफ्ना दाइ र कक्षाका साथीहरुको सहायतामा घण्टौँ हिँडेर स्कुल जान्थे । त्यो बाटो पटक्कै सजिलो थिएन । कहिले हिलै हिलो तर कहिले काँडाले भरिएको अनि कहिले बाढीले बगाएको सडक हुँदै उनले स्कुलसम्मको यात्रा तय गर्थे । उनी भन्छन्, ‘म अन्धो भएका कारण मसँग कोही बच्चाहरु बोल्दैनथे ।’

यसरी गरिब घरमा, अशिक्षित अभिभावकबाट जन्मिएका श्रीकान्तलाई समुदायले नै नकारेको थियो । उनले थप सम्झिँदै भने, ‘मेरा बाबुआमालाई भनिएको थियो कि मैले बाटोको भुसिया कुकुरभित्र पसेको समेत देख्न सक्दिनँ । त्यसैले सिरानीले मुख छोपी हत्या गर्न आमाबुवालाई सुझाव दिइन्थ्यो ।’

तर छरछिमेक, समुदाय जसले जे भने पनि उनका बाबुआमा सधैँ उनको समर्थनमा थिए । यसैकारण ८ वर्षको उमेर पुगिसकेपछि श्रीकान्तका बुवाले एउटा बोर्डिङ स्कुलमा उनलाई भर्ना लिन सकिने खबर सुनाए । यसका लागि श्रीकान्तले नजिकी सहर हाइद्रवादमा सर्नुपर्ने भयो ।

तर बाबुआमाबाट टाढा भएर पनि श्रीकान्त नयाँ स्कुलमा पढ्न उत्साहित थिए र छिटै नै त्यहाँको वातावरणसँग अनुकूल भए । यहाँसम्मकी उनले स्वीमिङ, चेस, क्रिकेट सबै सिके । श्रीकान्तलाई फुर्सदका यी सबै क्रियाकलापहरु एकदम रमाइलो लाग्थ्यो तर साथसाथै आफ्नो भविष्यको पनि खुब चिन्ता थियो ।

उनले पहिलेबाटै इन्जिनियर बन्ने सपना देखेका थिए र उनलाई त्यसका लागि आफूले विज्ञान र गणित पढ्नुपर्छ भन्ने थाहा थियो । तर उक्त विषय छनोट गर्दा स्कुलले यो अवैध हो भनेर उनलाई अनुमति दिएन । भारतका स्कुलहरु विभिन्न थरीका निकायबाट सञ्चालित हुन्छन् ।

कुनै केन्द्रीय बोर्डमा आधारित हुन्छन् भने कुनै चाहिँ निजी रुपमा व्यवस्थिति गरिएको हुन्छ । श्रीकान्तको स्कुल चाहिँ ‘स्टेट बोर्ड अफ एजुकेसन अफ आन्द्र प्रदेश’ ले सञ्चालन गरिरहेको थियो । यसमा माध्यमिक तहका दृष्टिविहीन विद्यार्थीले विज्ञान र गणित पढ्न अनुमति थिएन । यी विषयहरु अधिक चुनौतिपूर्ण हुने र यसका लागि चित्र अनि ग्राफहरु पनि आवश्यक पर्ने हुनाले यस्तो नीति लागू गरिएको थियो ।

त्यसको सट्टा उनीहरुलाई आर्टस, भाषा, साहित्य या सामाजिक विज्ञानका विषयहरु छनोट गर्न दिइएको थियो । यसरी सबै विद्यालयमा फरक फरक तरिकाले आफ्नै मनमौजीमा स्कुल चलाइरहेको कुराले श्रीकान्त दिक्क भए । त्यसैले २००७ मा एक शिक्षिकासँग सहकार्य गरि सम्बिन्धित बोर्डकहाँ पुगे । तर केही गर्न नमिल्ने भनेर उनीहरुलाई फर्काइयो ।

यसपछि स्कुलको व्यवस्थापन विभागको सहयोगले उनीहरुले एकजना वकिल फेला पारे र आन्द्र प्रदेशको उच्च अदालतसम्म यो मुद्दा पुर्याए । यो मुद्दा चलिरहेकै बेलामा श्रीकान्तले हैदरावादकै अर्को एक स्कुलले दृष्टिविहिनलाई पनि गणित र विज्ञान पढाउने र उनका लागि त्यहाँ स्थान रहेको थाहा पाए । यसपछि उनी खुसी हुँदै भर्ना भए । आफ्नो कक्षामा उनी एक मात्र आँखा नदेख्ने विद्यार्थी थिए ।

तर पनि सबैले आफूलाई खुला रुपमा अपनाएको उनी बताउँछन् । उनले सम्झदै भने, ‘मेरो क्लास टिचर एकदम मिजासिलो हुनुहुन्थ्यो । उहाँले मलाई सम्भव भएसम्मको सहयोग गर्नुभयो । मलाई सिकाउनकै लागि उहाँले पनि ट्याकटाएल डायग्राम बनाउन सिक्नुभयो ।’ ट्याकटाएर डायग्राम भनेको रबरको म्याटमा पातलो फिल्म प्रयोग गरि बनाइने चित्र हो ।

त्यसरी बनाइएको चित्र हातले छामेर पनि थाहा पाउन सकिन्छ । यसको ६ महिनापछि मात्र श्रीकान्तको पक्षले मुद्दामा जित हासिल गरेको खबर आयो । श्रीकान्त भन्छन्, ‘मलाई अत्याधिक खुसी लाग्यो । मैले पनि केही गर्न सक्छु भनेर दुनियाँलाई देखाउने पहिलो अवसर पाएँ । त्यस्तै युवा वर्गले मुद्दा लडेर अदालत मार्फत जित हासिल गर्न सक्ने हुँदा अन्याय विरुद्ध लड्न चिन्ता गर्नुपर्दैन भनेर पनि साबित गरेँ ।’

यसपछि श्रीकान्त आफ्नै स्टेट बोर्ड स्कुलमा फर्किए र आफूलाई मनपर्ने विषय, गणित र विज्ञान लिएर पढे । परीक्षमा उनले औसत ९८ प्रतिशत ल्याएर पास भए । यस पश्चात् उनको सपना भनेको भारतको प्रतिष्ठित इन्जिनियिरिङ कलेज, आइआइटीमा पढ्नु रहेको थियो । यसका लागि प्रतिस्पर्धा अत्यन्तै कडा हुन्थ्यो ।

त्यसैले विद्यार्थीहरु प्रवेश परीक्षाको तयारी गर्न विभिन्न कोचिङ इन्स्टिच्युटमा भर्ना हुन्छन् । तर त्यस्ता कुनै संस्थाले श्रीकान्तलाई लिन मानेनन् । उनले त्यस स्तरको शैक्षिक प्रस्तुती देखाउन सक्नेछैनन् भन्ने अनुमानका भरमा उनीहरु श्रीकान्तलाई भर्ना नलिने पक्षमा थिए । यसबारे श्रीकान्त भन्छन्, ‘तर मलाई कुनै पछुतो छैन । यदि आइआइटीलाई म चाहिँदैन भने मलाई पनि आइआइटी चाहिएन ।’

त्यसैले यसको सट्टा उनले अमेरिकाका युनिभर्सिटीहरुमा अप्लाइ गरे जसमध्ये पाँच वटाबाट उनलाई प्रस्ताव आयो । यसपछि उनले विश्वकै सबैभन्दा प्रतिष्ठित मानिने एमआईटी क्याम्ब्रिजमा पढ्ने निर्णय गरे । अनि उनी त्यहाँका पहिलो दृष्टिविहीन अन्तर्राष्ट्रिय छात्र बनेका हुन् । २००९ मा अमेरिका पुगेपछिको अनुभवहरु मिश्रित किसिमको भएको उनी बताउँछन् ।

उनका अनुसार त्यहाँको चिसो मौसम उनका लागि सबैभन्दा ठूलो झड्का थियो । त्यस्तै पहिलो महिना उनले केबल फ्रेन्चफ्राइज र फ्राइ गरेको मासुको भरमा मात्र गुजारा गर्नुपरेको उनले बताए । तर श्रीकान्त छिट्टै त्यो माहोलमा पनि घुलमिल भए । उनी भन्छन्, ‘एमआइटीमा हुँदाको समय मेरो जीवनकै सबैभन्दा राम्रो क्षण थियो । शैक्षिक हिसाबमा सबै अत्यन्तै कठिन थियो । तर उनीहरुको अशक्तलाई दिइने सेवाले मलाई अरुसँगै द्रुत गतिमा अघि बढ्न एकदमै मद्दत गर्यो ।’

तर पढाईसँगै उनले अशक्त बालबालिकाहरुलाई पढाउन र प्रशिक्षण दिनका लागि गैरलाभकारी संस्था पनि सुरु गरे । त्यस्तै आफूले दानमा पाएको पैसाबाट ब्रेल पुस्तकालय पनि खोलेका हुन् । अमेरिकामा उनको जीवन राम्रै चोलिरहेको थियो । एमआईटीमा पढाइ पूरा गरिसकेपछि उनलाई धेरै कम्पनीहरुबाट जागिरको प्रस्ताव आयो तर उनले अब अमेरिका नबस्ने निधो गरे । विशेषगरी स्कुल हुँदाका आफ्ना तिता अनुभवहरु उनले अझै भुल्न सकेका थिएनन् ।

त्यसैले पनि यो विषयमा आफूले केही गर्नुपर्ने उनलाई महसुस भयो । उनले भनेका छन्, ‘मैले जीवनमा सबै कुराका लागि एकदम धेरै संघर्ष गर्नुपर्यो तर सबैसँग म जति हिम्मत या मैले पाए जतिका कुशल प्रशिक्षक नहुन सक्छन् ।’ तर यसमा उनले न्यायिक शिक्षाका लागि मात्र लड्नुको कुनै अर्थ नभएको उनी बताए किनकि पछि गएर अशक्तताका लागि रोजगारीको अवसर नै थिएन ।

त्यसैले उनले आफैँ त्यस किसिमको कम्पनी सुरु गर्ने र अक्तहरुलाई नियुक्त गर्ने सोच बनाए । २०१२ मा हैदरावाद फर्किसकेपछि उनले बोलेन्ट इन्डष्ट्रिज स्थापना गरे । यो एक प्याकेजिङ कम्पनी हो जसले वातावरण अनुकूल उत्पादनहरुको प्रयोग गरि प्याक गर्दछ । यसमा झरेका पामका पातहरुको प्रयोग गरिन्छ । हाल यो कम्पनीको मूल्य ६ करोड डलर भन्दा धेरै रहेको छ ।

यसमा अशक्त या मानसिक समस्या भएका मानिसहरुलाई प्राथमिकता दिएर नियुक्त गराइन्छ । त्यहाँका ५०० स्टाफमा ३६ प्रतिशत कर्मचारी अशक्त रहेका छन् । गत वर्ष ३० वर्षको उमेरमा श्रीकान्तको नाम विश्व आर्थिक फोरमको युवा ग्लोबल लिडरहरुको सूचीमा परेको थियो । यसमा उनले आफ्नो कम्पनी कुनै दिन ग्लोबल आईपीओ बनोस् भन्ने लक्ष्य रहेको बताएका छन् । त्यस्तै बलिउड पनि उनीबाट अधिक प्रेरित भइरहेको छ ।

चर्चित अभिनेता राजकुमार राओले उनको जीवनमा आधारित फिल्ममा अभिनय गर्ने पक्का भइसकेको छ । यसले पहिलो पटक आफूलाई भेट्दा कमजोर ठान्ने सबैको मनस्थिति बदल्ने अपेक्षा रहेको उनले बताए । उनी भन्छन्, ‘सुरुवातमा मान्छेहरुले मलाई ओहो यो त अन्धो रहेछ । कति दुःखदायी भन्ने सोच्छन् । तर जब मैले आफूलाई व्याख्या गर्छु म को हो, म के गर्छु भनेर भन्छु ,अनि उनीहरुको सबै धारणा परिवर्तन हुन्छ ।’

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १०:४०