सूचनाको शक्ति - The Power Of Information

        

कैदी परियारले प्रहरी भुलाउन युवतीलाई ६० हजार दिन्छु भनेपछि…

दाङ । जिल्ला कारागार घोराही दाङका कैदी यमराज परियारले पहिल्यैबाट भाग्ने योजना बनाएको खुलेको छ । यसका लागि उनले युवतीहरुलाई प्रयोग गर्न पहिलेदेखि नै फोन गरेको खुलेको हो । तर युवती आउन नमान्दा केही दिन ढिला भएको अनुसन्धानका क्रममा खुलेको छ ।

कर्तव्य ज्यानको मुद्दामा २० वर्ष कैद सजाय भएका परियार २०७२ भदौ १६ गतेदेखि कैद भुक्तान गरिरहेका छन् । पछिल्लो समय उनी कारागारको दाइ नाइके भई काम गर्दै आएका थिए । दाङको राजपुर गाउँपालिका ३ का २९ वर्षीय परियार २०७८ पुस ८ गते बिहान ११ बजेको समयमा छाला सम्बन्धी बिरामी भएको भन्दै कारागारबाट अनुमति लिएरै बाहिर निस्किएका थिए ।

प्रहरी जवान धनबहादुर चौधरीसँग उपचारका लागि कारागारबाट पत्र पाए पनि सुरक्षा निकायले भने हिसाब मिलानका लागि लैजानु भनेको जवान धनबहादुरले बयानका क्रममा बताएका छन् । फरार भएका परियारलाई प्रहरीले पुनः पक्राउ गरिसकेको छ । उनीसँगै गएका प्रहरी जवान चौधरी र २२ वर्षीया युवतीलाई जिल्ला अदालत दाङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउन भन्दै हिँडेका कैदी र प्रहरी घोराही बजारको बीपी चोकस्थित थकाली भान्सा घर एन्ड लजमा पुगेका थिए । त्यहाँ कैदी परियारले दुई जना युवती बोलाएका थिए । युवतीलाई ६० हजार रुपैयाँ दिने भन्दै बोलाएको खुलेको छ । बयानका क्रममा कैदी परियार र युवतीहरुले समेत यस्तो स्वीकार गरेका हुन् । यमराजलाई कारागारले मोबाइल चलाउन र बारम्बार बाहिर जान दिने गरेको देखिएको छ ।

करिब एक महिना पहिले पनि उनी प्रहरी हवल्दार गणेश चौधरीसँग बाहिर गएका थिए । यस पटक बाहिर पठाउँदा उनै हवल्दार चौधरीले घोराही बजारको गल्ला मण्डीमा लिएर जाऊ, हिसाब गराएर ल्याउ भन्दै जवानलाई पठाएका थिए । त्यसपछि उनीहरु प्याराडाइज होटलमा पुगे । होटलमा उनीहरुले कफी पिए । होटलसम्म जाँदा प्रहरी जवानले र होटलबाट निस्कने क्रममा कैदी परियारले मोटरसाइकल चलाए ।

त्यसपछि उनीहरु कारागारमा तरकारी पठाउने पसलेकोमा पुगे । त्यसपछि तुलसीपुर चोकनजिक पुगेर मोटरसाइकलमा स्टिकर टाँसे । कैदी परियारले मोटरसाइकलमा स्टिकर टाँसेर फर्किने क्रममा युवतीलाई फोन गरेर बोलाए । ती युवतीसँग कैदी परियारले पहिल्यै कुरा मिलाइसकेको खुलेको छ । दुवै युवतीलाई ५० देखि ६० हजार रुपैयाँ दिने बताएर बोलाएको युवतीको बयान छ ।

त्यसबापत प्रहरी जवान चौधरीसँग शारीरिक सम्पर्क राख्नुपर्ने सर्त परियारले पहिल्यै राखेका थिए । जवान चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका दुई जना नर्सहरु आउँदैछन् भनेर आफूलाई पर्खाएको बताएका छन् । त्यसपछि उनीहरु होटलमा पुगे । दिउँसो १ बजेको थियो । दुई जना युवतीलाई पनि होटलमै बोलाए । ती युवतीहरुसँग कैदी परियार र जवान चौधरीले मासु चिउरा खाए ।

त्यसपछि कैदी परियारले जवानलाई ‘भाइ तपाईं एक जना केटीसँग माथिल्लो तलामा बस्नु’ भन्दै तेश्रो तलाको कोठामा लगे । अर्की युवतीसँग उनी तल्लो तलामा झरेर प्रहरी र युवतीलाई कोठामा छाड्ने बेलामा ‘डन्ट डिस्टर्ब, नो एसएएस, नो कल’ भनेको युवतीले बताएकी छन् । होटलमा प्रहरी जवान र ती युवतीको बीचमा शारीरिक सम्पर्कसमेत भएको थियो ।

उनीहरुलाई परियारले नै एक घण्टापछि निस्कनु भनेका थिए । २ बजेतिर उनीहरु निस्कन खोज्दा ढोकाको बाहिरबाट चुकुल लगाइएको थियो । यमराजसँग बस्ने भनेकी युवतीलाई प्रहरीसँग भएकी युवतीले फोन गरिन् । तर तल्लो तलामा पनि ती युवतीलाई यमराजले बाहिरबाट चुकुल बन्द गरेको खुलेको छ । पछि कैदीसँग बसेकी युवतीले गएर कोठा बाहिरबाट लगाएको चुकुल खोलिदिएको बयानमा बताएकी छन् ।

कैदी परियार युवतीलाई ट्राफिक प्रहरी कार्यालय पुगेर आउँछु भन्दै गएका थिए । आधा घण्टामा पनि उनी नफर्किएपछि प्रहरी जवानले फोन गरे । तर उनले फोन उठाएनन् । पछि मोबाइल अफ भन्न थाल्यो । ४ बजे मात्रै जवान चौधरीले जेलका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनलाई खबर गरेका थिए । सेनले जवान चौधरीलाई जसरी पनि खोजेर ल्याउनू भन्दै आदेश दिए ।

तर चौधरीले उनलाई नभेटेको भन्दै कार्यालय पुगेलगत्तै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अदालतले उनको लापरबाही देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाएको छ । प्रहरी जवानसँग राखिएकी युवती र परियारको बीचमा २०७४ सालदेखि नै चिनजान भएको पाइएको छ । ती युवतीका भाइ पनि कारागारमै छन् । भाइ भेट्न जाने क्रममा यमराजसँग चिनजान भएको उनले बताएकी छन् ।

त्यसयता उनीहरुको टेलिफोनमा नियमितजस्तो कुरा हुने गरेको खुलेको छ । यमराज भाग्नु पहिले पुस ३ गतेबाटै उनले ती युवतीलाई भेट्न बोलाएका थिए । ७ गते नै यमराजले ती युवतीलाई फोन गरेर भोलिपल्ट बोलाएका थिए । यमराजले अर्को पनि साथी लिएर आऊ भनेपछि उनले ब्युटीपार्लर सिक्दै गरेकी अर्की युवतीलाई ल्याएकी थिइन् । उनलाई पनि ५०/६० हजार रुपैयाँ दिने भनेको खुलेको छ ।

यमराज भागेपछि दुवै युवती घर फर्किएका थिए । पछि उनीहरु पनि भाग्ने बेलामा सँगै रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो । अहिले प्रहरीसँग बसेकी युवती थुनामा भए पनि यमराजसँग होटलमा बसेकी युवती भने छुटेकी छन् । प्रहरीको मोटरसाइकलमा भागेका यमराजलाई भने प्रहरीले भारतबाट पक्राउ गरेर ल्याइसकेको छ । भागेकै कारण उनलाई ७ वर्ष कैद थपिनेछ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १०:२४