सूचनाको शक्ति - The Power Of Information

        

समाचार

माघ १९ अर्थात् राजा ज्ञानेन्द्रले गरेका थिए देउवालाई ‘पदच्यूत’

काठमाडौं । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेका थिए । आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए ।

दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो ।

राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । राजाको उक्त कदम धेरै दिन टिकेन । ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो ।

दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्कियो । २०६२–०६३ को जनआन्दोलनको सुत्रपात पनि यहि दिनको कदम मानिन्छ । २०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी भएको थियो ।

जसमा ‘निरङ्कुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरुले निरङ्कुश राजतन्त्रकाविरुद्ध आ–आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर पूर्ण लोकतन्त्र स्थापना गर्ने’ उल्लेख थियो ।

त्यसपछि माओवादीसहित ८ राजनैतिक शक्तिले राजसंस्थाविरुद्ध आन्दोलन गरेका थिए । त्यहि आन्दोलनको सफलतापछि २३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो । तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दासमेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन ।

विकास निमार्णका कार्यले गति लिन सकेका छैनन् । भ्रष्टाचार रोकिएको छैन भने जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । तत्कालीन राजा ज्ञानेन्द्र अहिले आम नागरिकका रुपमा रहे पनि उनी विभिन्न ठाउँमा जाँदा ‘राजा आउ देश बचाउ’ नारा लागिरहन्छ । अहिले देशमा फेरि आन्दोलन शुरु भएको छ । १७ वर्षपछि अहिले उनै देउवा अहिले सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ०९:४८