बाँके । भित्ताभरि पान, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाएर थुकिएको, बसपार्क परिसरमा जताततै सुर्तीजन्य पदार्थका खोस्टा फालिएका छन् । टर्मिनल भवनका झ्याल तथा सिलिङ्गमा माकुरोले जालो लगाएको छ । यी दृष्यहरु नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरमा रहेको नेपालगन्ज बसपार्कभित्रका हुन् ।
बसपार्क सञ्चालन भएदेखि सरसफाइमा कसैको ध्यान पुगेको छैन । बसपार्क व्यवस्थापन समिति शुल्क असुलेर मस्त निद्रामा छ । बसपार्क परिसरभित्रको सरसफाइमा बसपार्क व्यवस्थापन समितिको फिटिक्कै ध्यान छैन । बसपार्क समितिको चरम लाहपर्वाही र गैरजिम्मेवारीपनाका कारण नेपालगन्ज बसपार्क दुर्गन्धित बनेको छ ।
नेपालगन्ज बसपार्क दुर्गन्धित बन्दै जान थालेपछि सोमबारदेखि अस्थायी प्रहरी पोष्ट बसपार्कको नेतृत्वमा सरसफाई अभियान थालिएको छ । बसपार्क दुर्गन्धित र फोहर बन्दै जान थालेपछि सरसफाई अभियान सुरु गरिएको अस्थायी प्रहरी पोष्टका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक फत्तेबहादुर हमालले जानकारी दिएका छन् ।

गत सातामात्रै इन्चार्जको जिम्मेवारीसहित अस्थायी प्रहरी पोष्ट बसपार्क आएका प्रहरी सहायक निरिक्षक हमालका अनुसार बसपार्कमा यातायात व्यवसायी, होटल तथा अन्य किराना व्यवसायीका साथै यात्रुहरुले समेत सरसफाइमा ध्यान ध्यान नदिएकाले दुर्गन्ध बढेपछि सरसफाइ अभियान थालिएको हो ।
‘हामीले बसपार्कलाई सुन्दर र स्वच्छ बनाउनुपर्छ भनेर पहिलो चरणमा सरसफाइ अभियान सुरु गरेका छौं,’ प्रहरी सहायक निरिक्षक हमालले भने, ‘हामी बसपार्कलाई सुन्दर, सुरक्षित, व्यवस्थित बनाउनका लागि निरन्तर खटिनेछौं । यसमा यातायात व्यवसायी, कर्मचारी, होटल तथा किराना व्यवसायीका साथै यात्रुहरुको पनि सहयोग हुनेछ ।’
यातायात र होटल व्यवसायीहरुसँग बसपार्क व्यवस्थापन समितिले विभिन्न नाममा शुल्क असुल्दै आए पनि बसपार्कको व्यवस्थापन तथा सरसफाईमा नियमन गर्न नसक्दा जताजतै फोहर भएर दुर्गन्ध फैलिन थालेको हो । नेपाल प्रहरीको नेतृत्वमा थालिएको सरसफाई अभियानको पहिलो दिनको कार्यक्रममा थोरै संख्यामा यातायात व्यवसायीहरु सहभागी थिए ।




















।