सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको खोप कार्ड बेचेर १८ करोड रुपैयाँ कमाउने दुई नर्स पक्राउ

काठमाडौं । कोरोनाविरुद्धको खोप नलगाएकालाई खोप कार्ड बेचेर १५ लाख डलर अर्थात १८ करोड नेपाली रुपैयाँ कमाउने न्युयोर्कको लङ आइल्याण्डका दुई नर्स पक्राउ परेका छन् ।

न्युयोर्कको राज्यको डाटावेसमा खोपा नलगाएकाहरुको विवरण पनि खोप लगाएको भन्दै राखेर कार्ड बेच्ने २ जना नर्सहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो । ४९ वर्षकी जुली डेबुनो र ४४ बर्षकी मारिसा उराओलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

उनीहरु वाइल्ड चाइल्ड पेडियाट्रिक हेल्थ केयरमा कार्यरत रहदै आएका थिए भने डेबुनो त्यसकी संचालक समेत हुन् । उनीहरुले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को जनवरीसम्म ३ महिनाको अवधिमा भ्याक्सिनकार्डहरु बेचेका थिए ।

बयस्कलाई २२० डलरमा र बालबालिकाहरुका लागि ८५ डलरमा कार्ड बेचिएको थियो । उनीहरुले सरकारी गुप्तचरहरुलाई पनि नक्कली कार्ड बेचेपछि फन्दामा परेका हुन् । गुप्तचरहरु ग्राहकको भेसमा त्यहाँ पुगेका थिए ।

उनीहरुको साथबाट ९ लाख डलर नगदसमेत बरामद गरिएको छ । साथै घरमा भेटिएको एउटा खातामा कार्ड बेचेर १५ लाख डलर नाफा गरेको विवरण समेत उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०९:३२