सूचनाको शक्ति - The Power Of Information

        

चिसोले सास्ती

हिमपात र शीतलहरले अधिक चिसो, जनजीवन कष्टकर

चिसोबाट जोगाउन डुडुवामा कम्बल वितरण

फाइल तस्वीर

बाँके । एक सातादेखि एक्कासि बढेको अधिक चिसोका कारण बाँके, बर्दिया लगायतका तराईका जिल्लाको जनजीवन कष्टकर भएको छ । पहाडी जिल्लामा परेको हिमपात र तराईमा चलिरहेको शीतलहर तथा हुस्सुका कारण चिसो धेरै बढेपछि तराईका जिल्लाका सडकमा सवारीसाधन र मानिसको आवागमन निकै कम देखिएको छ ।

बाँके, बर्दिया लगायतका तराईका जिल्लाको प्रमुख बजारमा समेत आवागमन घटेको तथा सरकारी कार्यालयमा पनि सेवाग्राहीको सङ्ख्या निकै घटेको छ । नेपालगन्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, बीपी चोक, वीरेन्द्र चोक, पुष्पलाल चोक र कोहलपुर, खजुरा तथा राँझामा चहलपहल निकै घटेको स्थानीयवासीले जनाएका छन् ।

सोही प्रकारले बर्दियाको गुलरिया, बासगढी, भुरीगाउँ र मैनापोखरमा समेत चहलपहल घटेको छ । अति आवश्यक कामबाहेक स्थानीयवासी घर बाहिर निस्केका छैनन् । गत मंगलबारदेखि बढेको चिसो अझै पनि नघटेपछि बजारमा मानिसको आवागमन निकै कम रहेको र व्यापार व्यवसायसमेत निकै कम भएको नेपालगन्जका व्यवसायीहरु बताउँछन् ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले चिसोले गर्दा बजार सुनसान देखिएको बताए । चिसोकै कारण सरकारी कार्यालय र यातायातका साधनमा पनि धेरै कम मानिस देखिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । उनले चिसोले प्रभावितलाई दाउरा र कम्बल वितरण गरिरहेको पनि बताए ।

केसीका अनुसार चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुर प्रभावित भएका छन् । शीतलहर, कुहिरो र भिजिबिलिटी कम हुँदा पाँच दिनदेखि नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । बिहान पहाडी जिल्लाका सिमकोट, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लामा हुने हवाई उडान अधिकांश नभएको र अन्य उडानमा पनि ढिलाइ हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

चिसोबाट जोगाउन कम्बल वितरण

चिसोबाट अत्यधिक प्रभावित भएका बाँकेको डुडुवा गाउँपालिकाका २२ सयभन्दा बढी ज्येष्ठ नागरिकलाई गाउँपालिकाले कम्बल, च्यवनप्राश र सामाजिक भत्ता वितरण गरेको छ । गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन विशेष योजना सञ्चालन गरेर घरघरमै पुगेर पालिकाभित्रका सबै २२७० जना ज्येष्ठ नागरिकलाई कम्बल, च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनले गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मका सबै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल, च्यावनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको जनाए । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि गाउँ समुदायबाटै ज्येष्ठ नागरिकलाई सवारीसाधनमार्फत घरबाट बैङ्कसम्म पुर्याउने र भत्ता दिलाएर फेरि घरसम्म लैजाने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०८:५३