सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोना फैलाएको आरोपमा एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी

कोभिड संक्रमित भएकै अवस्थामा बालकोटस्थित रक्तदान कार्यक्रममा सहभागी भएका एमाले अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै निवेदन दिइएको छ । संक्रामक रोग ऐन २०२० विपरित कोरोना संक्रमण फैलाउने कार्य गरेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको हो ।

अध्यक्ष ओली कोभिड संक्रमित भएकै अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागी भएपछि चौतर्फी विरोध पनि भइरहेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले ओलीलाई कारबाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् ।

‘उपरोक्त सम्बन्धमा मिति २०७८ साल माघ १२ गते पुर्वप्रधानमन्त्री केपी शर्मा ओली आफू कोभिड संक्रमित हुँदाहुँदै एमालेको भातृ संगठन युवा संघले आयोजना गरेको बालकोटस्थित रक्तदान कार्यक्रममा सहभागी भई हुलहुज्जत गरी आफूलाई कोभिड सामान्य संक्रमण भएको भनि भाषण गरिरहनुभएको भिडियो सार्वजनिक भएको थियो,’ उनले प्रशासनमा दिएको निवेदनमा लेखेका छन् ।

निवेदनमा थप लेखिएको छ, ‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेशण भएका छन् । उक्त समाचारहरु र तस्बिर यस्तै निवेदनका साथ पेस गर्दछु । यसरी आफू कोरोना संक्रमित भई जानिजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरूसँग सम्पर्कमा आएर कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवश्यक कारबाही गरीपाउँ ।’

कोभिड संक्रमित भएकै अवस्थामा बालकोटस्थित रक्तदान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यसहितका नेताहरु ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार १७:११