बाँके । बाँकेको जानकी गाउँपालिका पशुपालनमा अगाडी बढेको छ । जिल्ला सदरमुकाम नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएकाले यहाँ पशुपालनबाट राम्रो आम्दानी हुन सक्ने सम्भावना रहेको देखिन्छ ।
पालिकालाई थुप्र्रै कुराहरुमा नमुना बनाउन सक्रिय स्थानीय सरकारले पशुपालनतर्फ राम्रो गर्न सकिने भन्दै लागिपरेको छ । यहाँका किसानहरुको आवश्यकता तथा मागमा आधारित कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिएको छ ।
यसका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरेको छ । जसबाट यहाँका किसानले प्रत्यक्षरुपमा लाभ लिन सकुन् । पालिकालाई पशुपालनमा समेत नमूना बनाउनका लागि पशु शाखा स्वयं स्थलगत खटिने गरेको देखिन्छ ।
समुदायमा टोलमा गरिएका पशुहरुमा कुनै प्रकारको समस्या देखिए वा पशु बिरामी भए भने पशु शाखाका प्राविधिकहरु एक कल फोन आउने बित्तिकै स्थलगत पुग्ने गरेको स्थानीय किसानहरुको भनाई छ ।
शाखाले पशुपालक किसानहरुलाई मुख्यतया तीन किसिमको सेवाहरु प्रदान गरिरहेको छ । पशु स्वास्थ्य, पशु विकास र रोजगारी गरी तीन किसिमका कार्यक्रम सञ्चालन गरिएको जानकी गाउँपालिका पशु शाखा प्रमुख दिलबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत शाखाले पशुहरुको स्वास्थ्य परिक्षण र उपचार सेवा प्रदान गर्ने, महामारी रोगबिरुद्धका खोप कार्यक्रमहरु सञ्चालन गर्ने, आकस्मिक रोगहरु देखापरेमा स्थलगत निरक्षण गर्दै निराकरण गर्ने गरिएको छ ।
यस्तै पशु विकास कार्यक्रमअन्तर्गत साना पशु वितरण, नस्ल सुधार कार्यक्रम, पशुपालक किसानलाई तालिमहरु प्रदान गर्ने, व्यवसायीक कार्यक्रमहरु सञ्चालन गर्ने सिजन अनुसार घाँसका बीउ वितरण लगायतका कार्यक्रम गरिने गरिएको छ ।
यसैगरी रोजगारतर्फ संघ र प्रदेशमार्फत प्राप्त बजेटको प्रयोग गर्दै बेरोजगार युवाहरुलाई लक्षित व्यवसायीक तालिममार्फत रोजगारी उपलब्ध गराउने लगायतका कार्यहरु गर्दे आएको छ । पालिकाका करिब ९० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध छन् ।
प्रायःजसोले खेतीपाती गर्दै आएका छन् भने कसैले बाख्रापालन, कसैले पशुपालन, कसैले कुखुरापालन गरिरहेका छन् । शाखा र सबै किसानको सक्रियता हुन सके पालिकालाई नै कृषि हबका रुपमा विकास गर्न सकिने सम्भावना बढी देखिन्छ ।
यहाँका धेरैजसो किसानले पशुपालन गरेर दुध बिक्री गर्ने गरेका छन् । जसबाट राम्रो आम्दानी आर्जन गर्न सफल भएको पशु शाखा प्रमुख खड्काले बताए । पालिकाको गत एक वर्षको तथ्यांक हेर्ने हो भने सञ्चालन कार्यक्रमहरुबाट धेरै पशुपालक लाभान्वित भएको देखिन्छ ।
धेरै कार्यक्रमहरु गाउँपालिकाले अहिले पनि निरन्तरता दिइरहेको पशु शाखा प्रमुख खड्काले बताए । पालिकाले गत वर्ष पशु उपचार सेवा कार्यक्रममार्फत ८ हजारलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोमा २४३ जना महिला र ६५१ जना पुरुषगरी ८९४ जना लाभान्वित भएको तथ्याँकमा उल्लेख छ, भने ११ हजार २५६ वार्षिक प्रगति भएको छ ।
यस्तै सबै वडामा निःशुल्क खोप कार्यक्रममार्फत ३ हजार ५६५ जना कृषक लाभान्वित भएका छन् भने साझेदारीमा सञ्चालित भैसी वितरण कार्यक्रममार्फत ४९ जना लाभान्वित भएका छन् । जुन वडा नं. ५ र ६ मा सञ्चालन भएको थियो ।
दिलबहादुर खड्का, पशु शाखा प्रमुख, जानकी गाउँपालिका, बाँके
यस्तै साझेदारीमा सञ्चालित बाख्रा वितरण कार्यक्रममार्फत ५० जना नै प्रभावित भएका छन् । जुन वडा नं.५ र ६ मा सञ्चालन भएको थियो । यस्तै तीन दिने भैंसीपालन तालिममार्फत ४८ जना तथा तीन दिने बाख्रापालन तालिममार्फत ५० जना कृषक लाभान्वित भएको पालिकाको तथ्यांकमा उल्लेख छ ।
यसैगरी समूहमा गरिएको गाई वितरण कार्यक्रममार्फत २९ जना लाभाविन्त भएका छन् । जुन वडा नं. ५ र ६ मा सञ्चालन भएको थियो । यस्तै तीन दिने गाईपालन तालिममार्फत ३० जना लाभान्वित भएका छन् भने पशु विकास कार्यक्रम अन्तर्गत गरिएको भ्रमणबाट १५ जना लाभान्वित भएका छन् ।
यस्तै गाउँपालिकाका प्राविधिकलाई प्रयोगशाला सम्बन्धी तीन दिने तालिममार्फत १० जना प्राविधिक लाभान्वित भएको पशु शाखाका प्राविधिक रामसुरत यादवले बताए । गाउँपालिकाको विभिन्न वडाहरुमा खटिने प्राविधिकहरुलाई पनि दक्षता प्रदान गर्ने उद्देश्यले उक्त तालिम प्रदान गरिएको थियो ।
जसको सहयोगबाट प्राविधिकले फिल्ड वा कार्यक्षेत्रमा खटिँदा सहजता ल्याउने छ । गाउँपािलकाले पशुपालक किसानलाई सहज बनाउनका लागि थुप्रै कार्यक्रम सञ्चालन गरे पनि यस पालिकामा भएका किसानका लागि अझै अप्रयाप्त रहेको देखिन्छ । भएका ९० प्रतिशत कृषकलाई पालिकाले वार्षिकरुपमा छुट्टयाउने बजेटले नपुग्ने गरेको अवस्था छ ।
शाखामार्फत १ देखि ६ नं.वडा कार्यालयसम्म एक एक जना कृषि प्राविधिक र जेटिएको व्यवस्थापन गरेको छ । पालिकाभरिमा जम्मा ८ जना कर्मचारी छन् । यी कर्मचारीले भरपुर प्रयास गरिरहेको र सतप्रतिशत काम दिइरहेको शाखा प्रमुख खड्काको भनाई छ ।
उनका अनुसार पालिकाले यहाँका कृषकका लाथि बिनियोजना गर्ने बजेटको मात्रा बढाउनुपर्छ । ‘कृषकको माग र औषधी उपचारको अवश्यकता अहिलेको बजेटको भन्दा बढी आउँछ, हामीले प्रयास गर्दै गर्दा पनि सबैको माग अनुसार काम गर्न सकिरहेका छैनौं,’ प्रमुख खड्काले भने । ल
यस्तै प्रमुख खड्काले यहाँका कृषकहरुलाई पनि सुझाव दिन्छन् । उनका अनुसार यस पालिकामा बढीमा निर्वाहमूखी किसान देखिएका छन् । ‘जुन कार्य गरेका छन्, त्यो निर्वाहमूखी नै देखिएको छ,’ प्रमुख खड्काले भने, ‘त्यसकारण यसलाई व्यवसायीक बनाउन आवश्यक छ ।’
जुनसुकै किसिमको पशुपालन भए पनि व्यवसायीकरुपमा सञ्चालन गर्नुपर्ने वा किसानहरु लाग्नुपर्ने उनको जोड छ । साथै पशुपालनमा कुनै समस्या आएमा गाउँपालिकाको पशु शाखा तथा नजिकैको पशु सेवा केन्द्रमा सम्पर्क गर्न पनि उनले अनुरोध गरे ।
उनका अनुसार ब्यवसायीक पशुपालनका लागि ‘अब्बल’ पालिकाका रुपमा जानकी गाउँपालिका विकसित हुँदै गएको छ । निर्वाहमूखी पशुपालनबाट व्यवसायीक पशुपालन गर्ने किसानहरुको संख्या बढेको छ । कतिपय अन्य किसानहरु खेती छाडेर गाई भैसी, बाख्रापालन, बंगुरपालनतर्फ आकर्षित भएका छन् ।
‘यहाँका किसानहरु व्यवसायीक पशुपालनतर्फ आकर्षित भएका छन्,’ पशु शाखा प्रमूख खड्काले भने । उनले पशु स्वास्थ्य संरक्षण, रोग नियन्त्रण, आहारा व्यवस्थापन, उत्पादन र बजारीकरणमा सहयोग गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताए ।
।