सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

समुदायका सारथी बन्दै फत्तेपुरका ‘सामुदायीक वन’

फाइल तस्वीर

बाँके । बाँके जिल्लामा सामुदायीक वन कमै वडाहरुमा मात्रै रहेको पाइन्छ । बाँके जिल्ला नेपालको नक्सामा पुरै तराई क्षेत्रमा रहेको देखिन्छ । जसले मानिसहरुलाई तराईमा पनि वन होला भन्ने कल्पना कमैले मात्र गर्छन् होला । तर नक्समा सबै तराई क्षेत्रमा जिल्ला पर्ने देखिए पनि यहाँ सामुदायीक वनहरु पनि रहेको छ । धेरै वडाहरुमा सामुदायीक वन नरहे पनि केही वडाहरुमा भने सामुदायीक वन रहेको पाइन्छ ।

त्यस्तै वडाका रुपमा राप्तीसोनारी गाउँपालिका वडा नं ७ रहेको छ । यहाँ पाँच वटा सामुदायीक वन रहेका छन् । कुसुम्या सामुदायीक वन सर्री, भगौती सामुदायीक वन सर्रा, रामजानकी सामुदायीक वन गेंदवा, मण्डहवा सामुदायीक वन झगडिया र पोखरा माता सामुदायीक वन लालपुर रहेका छन् । समुदाय र सामुदायीक वनको सम्बन्ध एकदमै प्रगाढ रहेका कारण सामुदायीक वन हुनु राम्रो पनि हो ।

सामुदायीक वन भएका क्षेत्रको वातावरण राम्रो हुनुका साथै त्यस क्षेत्रका मानिसहरुको जीवनशेलीमा ठुलो सहयोग पु¥याएको पाइन्छ । स्थानीयले सामुदायीक वनको अवधारणा अनुसार नै सामुदायीक वन निर्माण भएको छ । सामुदायीक वनले समुदायको विकासमा पनि ठुलै सहयोग गरिरहेको स्थानीय बताउँछन् । यतिमात्रै नभएर यहाँका सामुदायीक वनले व्यवसायीक क्षेत्रलाई पनि शुरु गर्ने प्रयास गरेका छन् ।

वन मात्रै भएर समुदायलाई केही फाइदा हुने तर त्यही वन क्षेत्रको सदपयोग गर्न सक्यो भने व्यवसायीक रुपमा पनि केही गर्न सकिन्छ भनेर आफुहरु लागेको कुसुम्या सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण थारु बताउँछन् । उनले वन क्षेत्रमा खाली रहेका जग्गाको सदुपयोग गरौं भन्ने सोंचका लागि उपभोक्ताहरुले बन क्षेत्रमा आयमूलक खेतीहरु गर्न थालेपछि सामुदायीक वनको आम्दानी पनि बढ्न थालेको बताए ।

कुसुम्या सामुदायीक वन क्षेत्रमा खाली रहेको जग्गामा व्यवसायीक रुपले एक हजार ३५० वटा कागतीका बिरुवा रोपिएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा उक्त बृक्षारोपण गरिएको हो । जसमध्ये हाल ८० प्रतिशत बिरुवाहरु हुर्किन थालेका छन् भने पुनः २० प्रतिशत बिरुवा लगाइएको वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणले बताए । यसका साथै सामुदायीक वनले बासको व्यवसाय गर्ने योजना बनाएको छ ।

वडाभित्र राप्ती नदीसँग जोडिएको क्षेत्रमा बास लगाउने योजना सामुदायीक वनहरुले गरेका हनु । राप्ती छेउमा बाँस लगाएपछि पहिलो कुरा कटान क्षति कम हुनेछ । त्यसपछि जग्गाधनीले आफ्नो क्षेत्रमा रहेका बाँसहरुबाट ५० प्रतिशत लाभ लिन पाउने र ५० प्रतिशत लाभ रेखदेख गर्नेले पाउने गरी योजना बनाइएको छ ।

यसले स्थानीय जग्गाधनीलाई आवश्यक बाँसको परिपूर्ति हुन्छ र अर्कोतर्फ सामुदायीक वनका वन पालेहरुलाई पारिश्रमिक दिन वा भनौं सामुदायीक वनलाई सहयोग पुग्ने वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणले बताए । वडामा रहेका सबै सामुदायीक वनले समुदायसँग विभिन्न कुरामा सहकार्य गर्दै कार्यसमितिले उपभोक्तालाई शुल्क निर्धारण गरेर सेवा प्रदान गरिरहेको छ ।

सामुदायीक वन भएको क्षेत्रमा ठुलो सहयोग पुगेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रामखलन थारु बताउँछन् । एक हिसाबले हर्ने हो भने सामुदायीक वन समाजको मेरुदण्ड हो भनेर पनि भन्न सकिन्छ । सामुदायीक वनभित्र रहेका खोला नाला, वन पैदावारले समुदायको विकासमा अहंम् भूमिका निर्वाह गरेको छ ।

‘नागरिकलाई खेतीपातीमा सिँचाइ गर्नका लागि आवश्यक पानीको मात्रा सामुदायीक वनबाट आएको खोला नालाले पुर्ति गरेको छ, त्यस्तै घर बनाउन पर्यो, घर निर्माण गर्ने क्रममा आवश्यक पर्ने झ्याल, ढोका बनाउन पर्यो र घरमा खाना पकाउन वा आगो बाल्नका लागि आवश्यक पर्ने काठ दाउराका पूर्ति यही सामुदायीक वनले सहज बनाएको छ,’ वडाध्यक्ष रामलखनले भने ।

यसका साथै सामुदायीक वनले वडालाई पनि सहयोग पुर्याएको पाइन्छ । चिसो मौसममा जनतालाई चिसोबाट जोगाउनका लागि आवश्यक पर्ने काठ दाउरा सहजै उपलब्ध गराउँदै आएको छ । ‘सामुदायीक वन नभएको भए वडा कार्यालले प्रत्येक वर्ष रकम तिरेर जनतालाई चिसोबाट बचाउनका लागि आगो बाल्न काठ किन्नुपर्ने हुन्थ्यो,’ वडाध्यक्ष थारुले भने ।

स्थानीयले श्रमदान गरी बृक्षारोपण गरेर वनको संरक्षण गरेर समुदायमा टेवा पुर्याइरहेको वडाध्यक्ष थारुको भनाई छ । उनले भने, ‘वडा कार्यालयले दाउरा किन्न परेको छैन, वन गौरव हो, यो हाम्रो गहना हो । वन बिना मानिसको कल्पनासमेत गर्न सकिँदैन ।’ यस्तै सामुदायीक वनमा व्यवसायीकरुपमा शुरु गरिएको कागती खेती प्रति वडा कार्यालय सकारात्मक रहेको छ । यो कार्यले सामुदायीक वनको आर्थिक बृद्धि गर्नेछ ।

समुदायका नागरिकहरु सहजै वनभित्र पसेर जथाभावी फडानी गर्ने, सामुदायीक वनमा भएका जंगली जनावरहरु गाउँमा आएर दुख दिन थालेपछि त्यसको संरक्षणका लागि कुसुम्या सामुदायीक वनमा तारबारसमेत गरिएको छ । यसले गाउँबस्तीमा आएर बालीनाली नोक्सान पु¥याउँदै आएका जंगली जनावरहरु आउन छाडेका छन् भने तारबार लगाएपछि बन फडानीसमेत रोकिएको छ ।

तारबारका लागि बी ग्रुप नामक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । यही सामुदायीक वनभित्र नै वडा कार्यालयले आपतकालिन सेल्टर भवन निर्माण गरेको छ । विपद् आएको खण्डमा आपतकालिन उद्धार गरी सर्वसाधारणलाई राख्ने उद्देश्यले भवन निर्माण गरिएको वडाध्यक्ष थारुले बताए । आपतकालिन समय नभएको अवस्थामा सामुदायीक वनले उक्त भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।

यस्तै कुसुम्या सामुदायीक वनमा गरिएको कागती खेती र तारबारजस्तो उदाहरणीय कार्य सामुदायीक वन उपभोक्ता समितिले वडाका सबै सामुदायीक वनमा निरन्तरता दिँदा राम्रो हुनेछ । यहाँ २०५१ सालदेखि बन जोगाउन सामुदायीक वन उपभोक्ता समिति निर्माण गरेर संरक्षणका काम भएका छन् । २०४९ सालदेखि बन जोगाउने अवधारणाअनुरुप नै यहाँ बन संरक्षणको कार्य गरिरहेका छन् । सामुदायीक बनले यहाँको वातावरण पनि अन्य क्षेत्रको भन्दा फरक देख्न पाइन्छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार १०:५९