सूचनाको शक्ति - The Power Of Information

        

नाजुक बन्दै मुक्त हलियाको जीवन

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–६ दैयाका हलिया समुदाय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीवनस्तर पछिल्लो समय झन् नाजुक बन्दै गएको छ ।

हलिया समुदायका मानिसले दैनिक जीविकोपार्जनका लागि गिट्टी कुटेर दिन बिताउने गर्दछन् । तर, गिट्टी बिक्री नभएपछि बिहान बेलुकी छाक टार्न उनीहरुलाई सकस भएको छ । गिट्टी बेचेर बिहान–बेलुकीको छाक टार्दै आएका उनीहरुले कुटेका गिट्टी पनि बिक्री हुन छाडेको बताइएको छ ।

सरकारले मुक्त हलिया घोषणा गरे पनि उनीहरुले उचित राहत र जग्गा नपाउँदा खोला किनारमा गिट्टी कुट्न बाध्य छन् । स्थानीय सरकारले काम गरेको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउने सेवा–सुविधा नपाएको गुनासो गरेका छन् । बुढीनन्दा नगरपालिका–६ दैयाका खड्के विककी आमा शारीरिक अपाङ्गता छन् ।

आमाबुवालगायत १४ जना परिवार पाल्न उनलाई निकै समस्या छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत राजनीतिकरण गरेर आफ्नो परिवारलाई छनोट नगरेको दुःखेसो पोखिन् । उनले भनिन्, ‘थोरै जमिन थियो । त्यही जमिनसमेत बड्डीगाड खोलाले बगायो । अहिले ढुङ्गा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको छु ।’ स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट बञ्चित हुँदै आएको उनको गुनासो छ ।

हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताए । उनले भने, ‘परिवार पाल्नका लागि बड्डीगाड खोलामा दिनभरि ढुङ्गा फुटाउँछु । पछिल्लो समय कुटेको गिट्टी बिक्रीसमेत भएको छैन ।’ घर खर्च चलाउनका लागि गाउँमा रोजगारी नपाएपछि श्रीमानलाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोखिन् ।

उनले भनिन्, ‘कोरोना आएको छ, श्रीमान भारतमा छन् । के–कस्तो छ फोनसमेत गर्न पाएको छैन । श्रीमानले अलिकति पैसा कमाएर ल्याएपछि उदारो ल्याएको दालचामलको पैसा तिर्नहुन्थ्यो ।’ आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उनले बताइन् । ‘पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटायौँ, तर ती फुटाएका ढुङ्गासमेत बिक्री नभएर खोलामै थन्किएका छन्,’ अर्की पीडित जनकला विकले भनिन् ।

उनीहरु मात्रै होइन, दैयाका हलिया दिनभरि कामका लागि विभिन्न ठाउँमा भौतारिरहेका हुन्छन् । तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले सुनाए । आफूले लगाएको घरमा टिन हाल्ने पैसा नहुँदा अहिलेसम्म घर छाउन नसकेको उनको गुनासो छ । उनले भने, ‘घर छाउन सहयोग पाएको छैन ।’

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार ०९:५५