सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा सङ्क्रमणमुक्त हुने दर बढ्दै, २४ घण्टामा २१ लाखले जिते कोरोना

काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुने दर बढ्दै गएको छ। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २१ लाख ३ हजार सङ्क्रमित निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

जसअनुसार विश्वभर कोरोना मुक्त हुनेको सङ्ख्या २९ करोड ४४ लाख पुगेको छ। यस्तै २४ घण्टामा २५ लाख ९ जना नयाँ सङ्क्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड २ लाख नाघेको छ।

यस्तै ७ हजार ५ सय जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ७५ हजारभन्दा धेरै छ। अझै पनि ७ करोड २७ लाख सक्रिय सङ्क्रमित रहेका र त्यसमध्ये ९४ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले जनाएको छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ७ करोड ५४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ५८ लाख निको भएका छन्। ९ लाख ६ हजारको भने मृत्यु भएको छ।

अमेरिकामा अझै पनि २ करोड ८६ लाख सक्रिय सङ्क्रमित रहेकामा २३ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

चार करोड १० लाखमा सङ्क्रमण पुष्टि भएको भारतमा भने ३ करोड ८६ लाख निको भएका छन्। ४ लाख ९४ हजारको मृत्यु भएको छ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार ०९:५५