सूचनाको शक्ति - The Power Of Information

        

समाचार

निजी अस्पतालले लिँदैनन् कोभिडका बिरामी, भेरीमा पठाउँदा समस्या

बाँके । कालीकोटको शुभकालिका गाउँपालिका–५ का १६ वर्षीय गजेन्द्र बोहरा गाउँमै बाख्रा चराउने क्रममा लडेर घाइते भई टाउकोमा गम्भीर चोट लाग्यो ।

उनलाई माघ ४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि भर्ना गरिएकोमा परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि माघ ५ गते भेरी अस्पतालमा रिफर गरियो । भेरी अस्पतालमा न्युरो सर्जन नभएको अवस्थामा गम्भीर बिरामीलाई भेरीमा पठाइएपछि उपचारका क्रममा माघ १२ गते बोहराको निधन भयो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बोहराको उपचार अभावमा निधन भएको जानकारी दिए । ‘सुविधा सम्पन्न अस्पतालबाट न्युरो सर्जन नभएको भेरीमा गम्भीर बिरामीलाई उपचारका लागि रिफर गरि पठाइयो,’ अध्यक्ष धितालले भने, ‘शिक्षण अस्पतालले पोजेटिभ देखिएपछि भेरीमा बिरामी पठाउँदा समग्र उपचार सेवा प्रभावित भएको छ ।’

पछिल्लो समय भेरीमा प्रसूतिका लागि आउनेको सङ्ख्या बढेको छ । अस्पतालको प्रसूति वार्डमा कार्यरत चिकित्सक डा.कल्पना थापाबाहेक अधिकांश चिकित्सक आफैँ कोरोना पोजेटिभ भएपछि प्रसूति सेवासमेत प्रभावित भएको छ । डा.थापाले दिनमा १२ जनासम्मको शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.बीबी चन्दले अन्य अस्पतालबाट भेरीमा कोभिडका बिरामी रिफर भई आउने क्रम बढेपछि सेवा प्रवाहमा केही समस्या भए पनि हालसम्म व्यवस् थापन गरिएको बताए । कोभिड पोजेटिभ हुना साथ गम्भीर बिरामी भेरीमा पठाउँदा उपचारमा कठिनाइ हुने भन्दै चन्दले जिल्ला प्रशासनमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समस्या सम्बोधनका लागि आग्रह गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार ०९:३७