सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

वडामै खानेपानीका ‘ठुला आयोजना’

बाँके । बाँकेमा राप्ती नदीको बाढीले थुप्रै तहसनहस गर्ने गरेको छ । प्रत्येक वर्ष राप्ती नदीमा आउने पानी र बाढीका कारण जोखिम क्षेत्रको निर्माण गर्ने गरेको छ भने धेरै नागरिकलाई कष्ठकर जीवन व्यतित गर्न बाध्यसमेत पार्ने गरेको थुप्रै उदाहारण पनि छन् । पश्चिम नेपालको बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा पनि राप्ती नदीले दुःख दिने गरेका घटनाहरु बर्षैपिच्छे सार्वजनिक हुने गरेका छन् ।

यस गाउँपालिकाकामा सबैभन्दा बढी दुःख पाउने वडामध्येको ७ नम्बर वडा पनि एक हो । यो वडाको सीमा क्षेत्र राप्ती नदीका कारण बगरमा समेत परिणत भएको छ । यो वडाको पश्चिम, दक्षिण पश्चिम र दक्षिणतिर राप्ती नदी बगिरहेको छ । जहाँ नदीले यहाँका थुपै्र व्यक्तिहरुको जग्गा जमिन बगरमा परिणत गर्दै बगर बनाएको छ । जहाँ अब कुनै खाद्य उत्पादन गर्न किसान असमर्थ छन् ।

वर्षेनी अथाह पानी हुने यस वडाका स्थानीयले शुद्ध पानी खान पाएका छैनन् । जहाँ पानीको कमी हुँदैन, त्यहीका स्थानीय शुद्ध पानी खान पाउन बञ्चित छन् । हो वर्षेनी आउने बाढी तथा पानीले भएका पानीका मुहान दुषित र खान आयोग्य पनि बनाउने गर्छ । जसले गर्दा बाह्रै महिना स्थानीय शुद्ध पानी खान पाउँदैनन् । भएका पानीका श्रोतहरु दुषित हुन्छ ।

दुषित पानी पिउँदा नागरिकमा बिभिन्न संक्रमण लाग्ने सम्भावना समेत बढाउँछ । विभिन्न प्रकारका रोगले नागरिकलाई आक्रमण गर्न थाल्छ र स्वास्थ्य संस्थामा मानिसहरुको उपस्थिति बढ्छ । दुषित खानेपानीकै कारण जटिल समस्या भएको खण्डमा सदरमुकाम लगायतका अस्पतालमा जानुपर्ने बाध्यता सिर्जना हुन्छ । यही समस्याको दिर्घकालिन समाधानका लागि ७ नम्बर वडा कार्यालय अहिले लागिपरेको छ ।

वडा कार्यालयले आफ्नै बजेटबाट गाउँमा खानेपानी धारा (हाते पम्प) वितरण गरेको छ । राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुका अनुसार वडाभित्र गाउँमा १६८ वटा धारा वितरण गरिएको छ । यस कार्यमा स्थानीय श्रमदान वा लगानीलाई पनि जोडिएको छ । ‘वडा कार्यालयले धाराको सेट उपलब्ध गराउने र स्थानीय आफैंले धारा जडान खर्च व्यहोर्ने गरी धारा वितरण गरेको छ,’ वडाध्यक्ष थारुले भने ।

यस्तै नियमितरुपमा शुद्ध पानीको व्यवस्थापनका लागि दुई वटा ठुला योजना समेत यस वडामा सञ्चालित छन् । वडा कार्यालयको लगानीमा सम्भव नभएपछि प्रदेश सरकारको बजेटमार्फत यहाँ दुई वटा ठुला खानेपानी आयोजना निर्माण भइरहेको छ । वडाभित्र गाउँलाई लक्षित गर्दै दुई स्थानमा खानेपानी ट्याङ्की निर्माण भइरहेको वडाध्यक्ष थारुले जानकारी दिए ।

वडाको निबुवाटार र पोखरामाता मन्दिर प्राङ्गण लालपुरमा खानेपानी ट्याङ्की निर्माण भइरहेको छ । दुबै स्थानमा निर्माधिन खानेपानी ट्याङ्कीमार्फत करिब १४ हजार नागरिकलाई शुद्ध खानेपानी उपलब्ध हुने अनुमान छ । दुई वटा योजनामा करिब रु.१० करोड लगानी रहेको वडा कार्यालयले जनाएको छ । हाल यी दुवै योजनाको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ ।

निबुवाटारमा निर्मित खानेपानी ट्याङ्कीमार्फत वडाको सर्री, बिसम्भरपुर, निबुवाटार, सोनवर्षा, सर्रा, छपरतल्ली, पहाडीपुर, बसन्तापुर, भवानीयापुर, शान्तिपुर, सिसमघारी, भेलोनिया र गेंदवा भर्ता तथा पोखरामाता मन्दीर परिसर लालपुरमा निर्माणाधिन खानेपानी ट्याङ्कीमार्फत पोखरामाता, लालपुर, नन्कौपुर, फरेँदा, झगडिया, सैयापुर, कोरी सैयापुर, देवपुरा, पिप्रहवा र खल्ला झगडिया गाउँ लाभान्वित हुने वडाध्यक्ष थारुले बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार ११:१०