काठमाडौं । बाघले मान्छे र पशुमाथि लगातारको आक्रमणका कारण नकारात्मक खबर आइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जले बाघ पाइने ११ देशलाई उछिन्दै महत्त्वपूर्ण पुरस्कार जितेको छ । संसारका १३ देशमा बाघ पाइन्छन् ।
तर करिब १२ वर्षमा बाघको संख्या दोब्बर गर्न सफल भएका बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले डब्लूडब्लूएफको टीएक्स–टु पुरस्कार जितेका हुन् ।
तमिलनाडुमा पर्ने सत्यमंगलममा सन् २०११ सम्म २५ वटा बाघ रहेकामा अहिले ८० पुगेको छ । यता सन् २०१० पछि अहिलेसम्म बर्दिया निकुञ्जमा बाघको संख्या दोब्बर भएको छ ।
रसियामा २०६७ मंसिर ७ मा भएको बाघ पाइने १३ मुलुकका सरकार प्रमुखहरूको सम्मेलनले १२ वर्ष अर्थात् सन् २०२२ सम्ममा प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर बनाउन लागिपर्ने घोषणा गरेको थियो ।
त्यो बेला बर्दिया निकुञ्जमा १८ वटा बाघ थिए, सन् २०१८ को गणना अनुसार ८७ पुगेका छन् । बर्दियामा सन् २०१० पछि चार गुणाले बाघको संख्या बढेको हो । २०६७ मा नेपालमा १ सय २१ वटा बाघ थिए । सन् २०१८ को गणनाअनुसार २ सय ३५ पुगेका छन् । अहिले फेरि बाघ गणना जारी छ । यो गणनाले उत्साहजनक नतिजा दिने अपेक्षा संरक्षणकर्मीहरूको छ ।
।