सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान

काठमाडौं । लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।

अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले आज राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गर्नुभएको हो ।

यसअघि सूचनाबाट नै बैठक आह्वान हुँदै आएको थियो भने सूचना नै जारी गरेर स्थगित हुँदै आएको थियो । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो ।

यसबीचमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित केही सांसद र संघीय संसद् सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । अध्यक्ष तिमिल्सिना कोरोनामुक्त भएपछि बैठक आह्वान गरिएको हो ।

राष्ट्रिय सभा र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेको अवरोधले काम हुन सकेको छैन । एमालेले भदौयता दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १८:५७