सूचनाको शक्ति - The Power Of Information

        

मृत भेटिए राज्यमन्त्रीका पिएसओ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार सुतेकै अवस्थामा मृत फेला परेका छन् ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन् ।

जोशी धनगढी उपमहानगरपालिका–३ गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

परिवारका अन्य सदस्य आफन्तको विवाहमा गएकोले जोशी केही दिनदेखि घरमा एक्लै थिए । उनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ ।

परिवारका सदस्य बुधबार घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउँदा केही नबोलेपछि ढोका फुटाएर हेर्दा मृत भेटेको बताइएको छ ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १०:१८