सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय जनगणनाको नतिजा

स्थानीय तहसम्म जनसंख्या विवरण, कहाँ कति ? (नतिजासहित)

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्यो । जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० भएको उल्लेख गरिएको छ । विभागले हरेक सबै जिल्लादेखि स्थानीय तहसम्मको जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ ।

विभागका अनुसार गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी रहेका छन् । यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पा भूमी, मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासो गाउँपालिका रहेका छन् ।

सबैभन्दा धेरै जनसख्या बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङ जिल्लाको नार्फाभूमि गाउँपालिकामा ४४२ जना रहेका छन् । १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेका छन् भने ५० हजार भन्दा बढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेका छन् ।

शहरी क्षेत्र वा नगरपालिकामध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकामा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज महानगरपालिका रहेका छन् । यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकामा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालीगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका रहेका छन् ।

यस्तै सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेका छन् । २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेका छन् भने १ लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेका छन् ।

यस्तै विभागले देशका ५ जिल्लाहरु भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको जनाएको छ । यस्तै रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ ।

जिल्लादेखि गाउँपालिकासम्मको जनसंख्या विवरण हेर्नुहोस् :

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार ०८:२६