काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनले पाँच वटा प्रदेशमा नेकपा एमालेलाई ‘क्लिन स्विप’ गरेको छ । सत्ता गठबन्धनले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशमा एमालेलाई ‘क्लिन स्विप’ गरेको हो ।
अन्तिम मत परिणाम सार्वजनिक भइसकेका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती र मधेस प्रदेशमा एमाले ‘क्लिन स्विप’ भएको छ । सूदूरपश्चिममा महिलातर्फ नेकपा (एकिकृत समाजवादी)की मदनकुमारी शाह विजयी भएकी छन् । उनले नेकपा (एमाले)का उमेदवार सन्तोषकुमारी थापालाई पराजित गरिन् ।
सत्ता गठबन्धनबाट उमेदवार बनेकी कैलालीकी शाहले ३०३४ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी थापाले १०७२ मत प्राप्त गरिन् । अन्य समूहबाट सुदूरपश्चिममा नारायणदत्त मिश्र विजयी भएका छन् । काँग्रेसका उमेदवार मिश्रले नेकपा (एमाले)बाट उमेदवार बनेका डिल्लीराज भट्टलाई पराजित गरेका हुन् ।
गठबन्धनबाट विजयी मिश्रले ३७४४ मतभार प्राप्त गर्दा भट्टले भने १८६६ मतभार प्राप्त गरे । दलिततर्फ नेकपा (माओवादी केन्द्र)बाट उमेदवार बनेका जगतबहादुर पार्कीले नेकपा (एमाले) का उमेदवार नरेशकुमार विश्वकर्मालाई पराजित गरेका हुन् । पार्कीले ३७६२ मतभार प्राप्त गर्दा विश्वकर्माले १७८२ मत प्राप्त गरेका छन् ।
यता, कर्णाली प्रदेशमा पनि एमाले ‘क्लिन स्विप’ भएको छ । कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित भएका हुन् ।
निर्वाचित बनेका विष्टले ३००६, गुरुङले २९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार प्राप्त गरेका छन् । यस्तै पराजित बनेका एमालेका गंगा थापा महतले १४१६ पदमबहादुर माझीले १३९८ र चूडामणि शर्मा १४१६ मत मात्र प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
मतदान गर्ने ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाको मत खसेको थियो । मतदान नगर्नेमा प्रदेश सभा सदस्य तथा राप्रपा नेतृ सोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली रहेको प्रदेश निर्वाचन अधिकृत चालिसेले जानकारी दिए ।
यस्तै लुम्बिनी प्रदेशमा पनि एमाले ‘क्लिन स्विप’ भएको छ । लुम्बिनीमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार खु्ल्ला सदस्यमा नेपाली काँग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
शर्माले ४३४४ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदयाल गुप्ताले ३३७८ मतभार पाए । महिलातर्फकी उम्मेदवार गैरेले ४३७४ र उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनालले ३३१२ मतभार प्राप्त गरेन् । दलिततर्फ विश्वकर्माले ४३५६ मतभार र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३३४८ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तह तर्फ एक सदस्य बराबर १८ मतभार तोकिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुल २९६ मतदातामध्ये २९४ मत खसेको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१३ मत र प्रदेशसभा सदस्यको ८१ खसेको थियो ।
यता बागमतीमा पनि एमाले नराम्रोसँग पछारिएको छ । बागमतीमा सत्ता गठबन्धनका एमाले ‘क्लिन स्विप’ गरिदिएको छ । बागमती प्रदेशबाट दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी महिलातर्फ गोमादेवी तिमल्सिना र अन्यतर्फ कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।
तिमल्सिना नेकपा (एकीकृत समाजवादी) र पौडेल नेपाली कांग्रेसका हुन् । स्थानीय तहतर्फ २३७ र प्रदेश सभा तर्फ १०६ गरि कुल ३४३ मत खसेकोमध्ये तिमल्सिनाले स्थानीय तहबाट ११६ र प्रदेशबाट ५७ मत प्राप्त गरिन् । स्थानीय तहतर्फ उनको मत भार २०८८ रहेको छ भने प्रदेशतर्फ २ हजार ७३६ मत भार छ ।
महिलातर्फ एमालेबाट उम्मेदवार बनेकी नीरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ र प्रदेशतर्फ ४७ मत पाइन् । उनको मतभार स्थानीय तर्फ २१०६ र प्रदेशतर्फ २२५६ छ । त्यस्तै अन्यतर्फ गठबन्धनबाट विजयी पौडेलले स्थानीय तहतर्फ ११७ र प्रदेशतर्फ ५६ मत पाउँदा एमालेका उम्मेदवार गोपाल शाक्यले स्थानीयतर्फ ११६ र प्रदेशतर्फ ४७ मत पाए ।
पौडेल र शाक्यको प्रदेश तर्फको मत भार क्रमशः २१०६ र २०८८ रहँदा प्रदेशतर्फ २६८८ र २२५६ रहेको छ । नेमकिपाको महिला तर्फको उम्मेदवार गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङले स्थानीय र प्रदेश दुवैतर्फ समान २÷२ मत पाए । स्थानीय तहतर्फ महिला र अन्य दुवै तर्फ २÷२ तथा अन्यको प्रदेशतर्फ १ मत बदर भएको छ ।
यस्तै मधेश प्रदेशमा पनि एमाले शुन्य भएको छ । सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन् । राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ पर्साकी उर्मिला ६१५६ मतभार ल्याएर विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी प्रतिपक्षी गठबन्धनकी रूपा यादवले २७५४ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन आयोगले जनाएको छ ।
उर्मिलालाई स्थानीय तहका १५८ प्रतिनिधिले मत दिँदा ६९ प्रदेश सभा सदस्यले मत दिए । उर्मिला नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनबाट उमेदवारी दिएकी थिइन् । पराजित भएकी रूपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट प्रतिपक्षी गठबन्धनको उमेदवार बनेकी थिइन् ।
मधेस प्रदेशबाटै अन्य समूहतर्फबाट सत्तारुढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् । उनी कुल मतभार ६६७८ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उस्मान अन्सारीले २७६६ मतभार हासिल गरे । सिद्दिकीले प्रदेश सभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत तथा अन्सारीले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत ल्याएका छन् ।
यता प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । उनी एमालेबाट राष्ट्रिय सभामा निर्वाचित एक मात्रै सदस्य हुन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राई पराजित भएका छन् । शेर्पाले ४७५२ मतभार र राईले ४३६८ मतभार प्राप्त गरेका छन् ।
प्रदेश १ मै दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले एमालेका उम्मेदवार गुरु बराललाई गोला प्रथाबाट हराएका हुन् । दुबै उम्मेदवारले बराल र बस्नेतको ४४८८ मत आएपछि गोलाप्रथामा विजेता घोषणा गरिएको थियो ।
काँग्रेसका बस्नेतले प्रदेश सांसद ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार बराललाई प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ जनाले मतदान गरेका थिए । प्रदेश १ बाट महिलातर्फ गठबन्धनकी उम्मेद्वार समाजवादीकी जयन्ती राई विजयी भएकी छिन् ।
।