सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनकै कब्जामा बागमती

हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार भएको निर्वाचनबाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी महिलातर्फ गोमादेवी तिमल्सिना र अन्यतर्फ कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

तिमल्सिना नेकपा (एकीकृत समाजवादी) र पौडेल नेपाली कांग्रेसका हुन् । स्थानीय तहतर्फ २३७ र प्रदेश सभा तर्फ १०६ गरि कुल ३४३ मत खसेकोमध्ये तिमल्सिनाले स्थानीय तहबाट ११६ र प्रदेशबाट ५७ मत प्राप्त गरिन् । स्थानीय तहतर्फ उनको मत भार २०८८ रहेको छ भने प्रदेशतर्फ २ हजार ७३६ मत भार छ ।

महिलातर्फ एमालेबाट उम्मेदवार बनेकी नीरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ र प्रदेशतर्फ ४७ मत पाइन् । उनको मतभार स्थानीय तर्फ २१०६ र प्रदेशतर्फ २२५६ छ । त्यस्तै अन्यतर्फ गठबन्धनबाट विजयी पौडेलले स्थानीय तहतर्फ ११७ र प्रदेशतर्फ ५६ मत पाउँदा एमालेका उम्मेदवार गोपाल शाक्यले स्थानीयतर्फ ११६ र प्रदेशतर्फ ४७ मत पाए ।

पौडेल र शाक्यको प्रदेश तर्फको मत भार क्रमशः २१०६ र २०८८ रहँदा प्रदेशतर्फ २६८८ र २२५६ रहेको छ । नेमकिपाको महिला तर्फको उम्मेदवार गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङले स्थानीय र प्रदेश दुवैतर्फ समान २÷२ मत पाए । स्थानीय तहतर्फ महिला र अन्य दुवै तर्फ २÷२ तथा अन्यको प्रदेशतर्फ १ मत बदर भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १७:४२