सूचनाको शक्ति - The Power Of Information

        

रेशम चौधरीसँग पराजित ‘गरिमा’ राष्ट्रिय सभामा विजयी

काठमाडौं । बुधबार भएको राष्ट्रिय सभा निर्वाचनको पहिलो परिणाम माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा गयो । सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने महिलातर्फको सिटमा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) विजयी भइन् ।

प्रदेश सभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर शाह राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् । शाहकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार सन्तोषकुमारी थापा थिइन्, जसले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १ हजार १५२ मतभार प्राप्त गरिन् ।

सुदुरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादी नै छ । यसको फाइदा त्यस पार्टीकी उम्मेदवार शाहलाई यसपटकको राष्ट्रिय सभा निर्वाचनमा भयो । स्थानीय तहतर्फ १० मतभारले मात्र अगाडि रहँदा प्रदेश सभातर्फ उनले आफ्नो प्रतिद्वन्द्वी सन्तोषकुमारी थापाभन्दा २ हजार ९६ बढी मत प्राप्त गरिन् ।

यस पटकको राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतान्तरले निर्वाचित हुनेमध्येमा शाहपनि पर्छिन् । तर, चार वर्षअघि भएको प्रतिनिधि सभा निर्वाचनमा तिनै शाह कैलाली–१ बाट ठूलो मतान्तरसहित पराजित भएकी थिइन् । उनलाई हाल जेलमा रहेका तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार रेशमलाल चौधरीले पराजित गरेका थिए ।

सो निर्वाचनमा शाहले वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवारको रुपमा कैलाली–१ मा प्रतिस्पर्धा गरेकी थिइन् । राजपा उम्मेदवार चौधरीले त्यो निर्वाचनमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका थिए । टीकापुर हत्याकाण्डका एक आरोपी चौधरीले वारेशमार्फत उम्मेदवारी दर्ता गरी भूमिगत रुपमै निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

भूमिगत रुपमै प्रतिस्पर्धा गरी विजयी बनेका चौधरीको निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार शाहले १३ हजार ४०६ मतमात्र प्राप्त गरेकी थिइन् । यस हिसावले विजयी राजपाका चौधरी र एमाले उम्मेदवार शाहबीचको मतान्तर २० हजार ९३५ थियो । तेस्रो स्थानमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने थिइन् ।

न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरेकी थिइन् । त्यो बेला शाहलाई झण्डै २१ हजार मतान्तरले विजयी रेशम चौधरी यतिबेला डिल्लीबजार कारागारमा छन् । संसद सदस्यका रुपमा शपथ ग्रहण गरे पनि चौधरीले प्रतिनिधि सभाको कुनै पनि बैठकमा भने भाग लिन पाएका छैनन् ।

टीकापुर हत्याकाण्ड लगत्तै आरोपी चौधरीलाई उन्मुक्ति दिन नहुने पक्षमा आवाज उठाउने अग्रपंक्तिमा एमाले थियो । तर, अहिले एमाले नै चौधरीलाई पार्टी प्रवेश गराउने तयारीमा रहेको चर्चा राजनीतिक वृत्तमा छ । जेलमा रहेका चौधरीले १९ पुषमा श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

जेलबाट रिहा भएलगत्तै एमालेसँग एकता गर्ने तयारी स्वरुप ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेको बताइएको छ । चौधरी एमाले प्रवेश गर्ने तम्तयारीमा रहेका बेला तिनै चौधरीसँग पराजित शाह भने एमाले उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै राष्ट्रिय सभामा पुग्न सफल भएकी छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १७:३३