सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिम पनि गठबन्धनकै कब्जामा

कैलाली । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रिय सभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट राष्ट्रिय सभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुलातर्फका उम्मेदवार मिश्रले प्रदेश सभातर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत पाए । स्थानीय तहतर्फ कूल १७५ मध्ये मिश्रले १०४ मत र ६९ भट्टले मत प्राप्त गरेका छन् । स्थानीय तहतर्फ दुई मत बदर भए ।

दलितमा माओवादी केन्द्रका पार्कीले प्रदेश सभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाएका छन् । दलिततर्फ प्रदेश सभामा १ र स्थानीय तहतर्फ ३ मत बदर भए ।

महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेश सभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेश सभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन् । महिलातर्फ प्रदेश सभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भए ।

सुदूरपश्चिम प्रदेश सभामा ५२ जना मतदाता (प्रदेश सभा सदस्य) रहेकोमा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १÷१ जना मतदाता थिए ।

सुदूरपश्चिम प्रदेशमा स्थानीय तहतर्फ १७५ मतदाता थिए । तीमध्ये नेपाली कांग्रेसका ७४ जना, नेकपा एमालेका ७१ जना, माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १७:२०