सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालमा आइएनजीओ नै खुलेआम धर्म प्रचारमा सक्रिय

अध्यागमन विभागले नेपालमा बस्दै आएका पाँच अमेरिकी र एक अस्ट्रेलियन नागरिकलाई हालै कालो सूचीमा राखेको छ ।

काठमाडौं । नेपालमा रहेका कतिपय विदेशी कम्पनी तथा सामाजिक संस्था खुलेआम धम प्रचारमा सक्रिय छन् । तर, यस्ता गतिविधिमा संलग्नहरुको राजनीतिमा उच्च तहसम्म सेटिङ हुने भएकाले कारबाही हुने गरेको छैन ।

सामाजिक संस्थाको आवरणमा धर्म प्रचार तथा व्यापारको काम गरेको पाइएपछि अध्यागमन विभागले नेपालमा बस्दै आएका पाँच अमेरिकी र एक अस्ट्रेलियन नागरिकलाई हालै कालो सूचीमा राखेको छ । तर, त्यसका मुख्य व्यक्तिहरुलाई भने जोगाइएको छ ।

माउन्टेन चाइल्ड नामक संस्थामा आवद्ध अमेरिकी नागरिकलाई कालो सूचीमा राखिएको हो । अमेरिकी नागरिकहरू अलेन ज्याक्सन नुनाली, मिचेल एममोर्गन, स्कट निकोलस स्मिथ, सराई एस्ले स्मित, केड मिचेल सिन्डेल र अस्ट्रेलियन नागरिक जेनिफर कन्सट्यान्स बोटरेललाई कालो सूचीमा राखिएको हो ।

गृह मन्त्रालयले माउन्टेन चाइल्डमाथि अनुसन्धान गरी कारबाही गर्न महिला तथा बालबालिका मन्त्रालय तथा अध्यागमन विभागलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा अध्यागमनले कारबाही गरेको हो ।

अमेरिकाको माउन्टेन चाइल्ड नामक संस्थामार्फत सहयोग लिएर नेपालमा माउन्टेन चाइल्ड इन्क नेपाल संस्था सञ्चालन हुँदै आएको छ । सोही संस्थाका सञ्चालकहरूले माउन्टेन चाइल्ड गेस्ट हाउस, माउन्टेन चाइल्ड एडभेन्चर ट्राभल एन्ड ट्रेकिङ, एभ्रिडे हिमालय, धार्चाेक रिट्रिट सेन्टर, बौद्ध होस्टेल र स्टारलाइट फाउन्डेसनजस्ता संस्था सञ्चालन गर्दै आएका छन् ।

नेपाली मूलका अमेरिकी नागरिक सुजन घिमिरेसँग मिलेर एनजीओको नाममा धर्म र व्यापार गरेको गृह मन्त्रालयको छानबिन रिपोर्टमा उल्लेख छ । सो संस्थामार्फत उनीहरूले हिमाली जिल्लाका दुर्गम गाउँमा स्कुल खोल्न भनेर सामाज कल्याण परिषद्बाट स्वीकृति लिएका थिए, जसले गोरखाको नुर्बुलगायत ठाउँमा स्कुल पनि खोल्यो ।

शिक्षा दिनुभन्दा त्यसको उद्देश्य धर्म परिवर्तन भएको खुलेपछि परिषद्ले सो संस्थाको प्रोजेक्ट नै रद्द गरेको थियो । उक्त संस्थाले अमेरिकाका क्रिस्चियन मिसनरीमार्फत ठूलो रकम ल्याएर नेपालमा खर्च गर्दै आएको छ । संस्थाका कतिपय पदाधिकारी बिजनेस भिसामा बस्दै आएका छन् ।

सो संस्थामाथि समाज कल्याण परिषद्ले पनि छानबिन गरिरहेको भएपनि कारबाही रोक्न चलखेल भइरहेको छ । बिजनेश भिसामा नेपालमा रहेका अन्य धेरै विदेशीले धर्म प्रचार गरेको उजुरी परेपनि अध्यागमनका कर्मचारीले फाइदा लिएर जोगाउने गरेका छन् । जसकारण नेपालमा धर्म प्रचार गर्नेहरुको लागि पनि उपयुक्त देश बन्दै गएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १६:४०