काठमाडौं । भौगोलिक क्षेत्रअनुसार कूल जनसङ्ख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । विसं २०६८ को जनगणनामा तराईमा कूल जनसङ्ख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकामा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ ।
हिमाली क्षेत्रमा कूल जनसङ्ख्याको ६.७३ प्रतिशत अंश रहेकामा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकामा हाल ४०.२५ प्रतिशतमा झरेको छ । दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १ प्रतिशत विन्दुले घटेको देखिन्छ ।
यो अवधिमा हिमाल तथा पहाडमा क्रमशः ३ र ४ प्रतिशत विन्दुले बढेको देखिन्छ । यो गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७प्रतिशत रहेकामा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६प्रतिशत कायम हुन आएको छ ।
वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (–०.०२ प्रतिशत), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.२९ प्रतिशत) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६ प्रतिशत) वृद्धि देखिन्छ । प्रदेशअनुसारको जनसङ्ख्या परिवर्तन र वृद्धिदर प्रदेशगत रुपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसङ्ख्या मधेश प्रदेश रहेको छ ।
मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २८८ जनसङ्ख्या रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ जुन समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत छ । लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।
प्रदेशगत रुपमा वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसङ्ख्या वृद्धि देखिन्छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ ।
साढे २१ लाख बढी नेपाली विदेशमा
राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ६९ हजार ४७८ व्यक्ति विदेशमा बसोवास गरिरहेका छन् । राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले सो देखाएको हो । तथ्यांकअनुसार विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ रहेका छन् । जो अवसरको खोजी गर्दै त्यहाँ पुगेका हुन् । यो नेपालको कुल संख्याको ८१.२८ प्रतिशत हो ।
विदेशमा बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ । दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए । २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
।