काठमाडौं । नेपाल प्रहरीको भावी प्रहरी महानिरीक्षक (आइजीपी)को दौडधुप सुरु भएको छ । बहालवाला आइजीपी शैलेश थापा क्षेत्रीले ०७९ वैशाख १९ मा अनिवार्य अवकाश पाउने भएपछि भावि आइजीपीको दौडधुप सुरु भएको हो ।
अहिलेकै अवस्थामा आइजीपीको दौडमा एआइजी विश्वराज पोखरेल र सहकुल थापा मात्रै छन् । तर, सरकारले एआइजीको संख्या थप्ने गृहकार्य गरेकाले अहिले नै आइजीपीको उमेदवार दुईजना मात्रै हुन्छन् वा थपिन्छन् निश्चित छैन ।
एआइजीहरु हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि ०७९ वैशाख १९ मै अवकाश पाउनेछन् । त्यसबाहेक आइजीकै ब्याची डीआइजीहरु, एसएसपी सबै एकै मितिमा ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् ।
सरकारले तीनजना एआइजी थप गर्ने तयारी गरेको छ । तीन एआइजीका लागि करिब १२ जना डीआइजी दौडधुपमा छन् । केही डीआइजी आइजीपीका व्याची पनि छन् । आइजीपीका ब्याची डीआइजी नै एआइजी वढुवामा परे विश्वराज पोखरेल र सहकुल थापाबीच मात्रै भावि आइजीपीको दौडमा हुने छन् ।
तर, पोखरेल र थापाका व्याची एआइजी बने आइजीपीका प्रतिस्प्रर्धी थपिनेछन् । एआइजीको दौडमा धिरजप्रताप सिंह, वसन्त पन्त, रविन्द्र धानुक, ईश्वरबाबु कार्की, उत्तमराज सुवेदी, वसन्त कुमार लामा, गणेश ऐरलगायत एक दर्जनभन्दा बढी डीआइजी छन् । जसमध्ये सिंह, पन्त, धानुक र सुवेदीको चर्चा बढी छ ।
हाल नेपाल प्रहरीमा जनपदतर्फ ५ जना एआइजीको दरबन्दी कायम छ । तीनजना थपिएमा एआइजीको संख्या आठ पुग्नेछ । एआइजीको संख्या थपिने चर्चासँगै डीआइजीका लागि समेत दौडधुप सुरु भएको छ । अहिलेकै अवस्थामा पोखरेल, थापाको ब्याचपछि डीआइजीबाटै आइजीपी बन्ने सम्भावना छ ।
डीआइजीका लागि पनि करिब १२ एसएसपीहरु दौडधुपमा छन् । डीआइजीको दौडमा एसएसपी सन्दीप भण्डारी, उमेशराज जोशी, दीपक थापा, टेकप्रसाद राई, रामदत्त जोशी, श्याम ज्ञवाली, सुदीप गिरी, वसन्तबहादुर कुवँर, अशोक सिंह, दुर्गा सिंह लगायत छन् । सरकारले तीनजना मात्रै एआइजी दरबन्दी थपे तीन डीआइजीको दरबन्दी खाली हुनेछ । सोही खाली भएको डीआइजीको दरबन्दीका लागि एसएसपी सक्रिय भएका हुन् ।
पोखरेल, थापा ब्याचपछि अहिले डीआइजी बढुवामा पर्नेहरु नै आइजीपीका प्रबल दाबेदार हुनेछन् । भावि आइजीपी, एआइजी र डीआइजी बन्न सबै सक्रिय भएका छन् । शक्ति केन्द्रमा पनि आफूनिकटका व्यक्तिलाई अगाडि बढाउने ‘खेल’ सुरु भएको छ । प्रहरी बढुवामा प्रधानमन्त्री र सत्ता साझेदार निकट भएकालाई प्राथमिकता दिइँदै आएको छ । बेलाबेला प्रहरी बढुवा विवादमा समेत पर्ने गरेको छ ।
।