बाँके । सुविधा र सम्पन्नताको हिसाबले हेर्दा नेपालगन्ज शहरसँग जोडिएको जानकी गाउँपालिका अझै धेरै पूर्वाधारतर्फ पछाडी नै परेको देखिन्छ । करिब पाँच मिनेटको समयमा नेपालगन्ज पुग्न सकिने यो गाउँपालिकामा मानिसले अपेक्षा गरेजतिको भौतिक पूर्वाधारतर्फ फड्को मार्न सकेको छैन ।
तर यही गाउँपालिका आफुलाई स्वास्थ्य क्षेत्रमा भने नमूना बनाउनतर्फ सक्रिय रहेको देखिन्छ । कोरोना कहरमा समेत सक्रियताका साथ लागेको स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले यहाँको स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन लागिपरेको देखिएको छ । कोरोना कहरमा चारैतिर सबैको अवस्था जोखिमपूर्ण नै थियो ।
जानकीमा पनि कोरोना कहरको शुरुवाती चरणमा संक्रमितलाई व्यवस्थापन गर्न समस्या देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला र स्वास्थ्यकर्मीको निरन्तरको छलफल तथा निष्कर्षपश्चात क्वारेन्टिन र आइशोलेसन व्यवस्थापन गर्न सफल भयो ।
यस पालिकाको सबैभन्दा नजिकको शहर नेपालगन्ज रहेको र नेपालगन्जमा कोरोना संक्रमणको अवस्था भयावह देखिएकोले पनि यो जानकी गाउँपालिका जोखिमको एकदमै नजिक रहेकोले पालिकामा बिकराल अवस्था हुन नदिन स्वास्थ्यकर्मीको अथक प्रयास र मेहनत नै देखिएको सावित हुन्छ ।
जिल्लास्तरमा बाँकेका बिभिन्न पालिकाहरुको स्वास्थ्य क्षेत्रको अवस्थाबारे गरिएको मापनमा जिल्लामै जानकी दोस्रो पालिका हुन सफल बनेको छ । पहिलो बाँकेको डुडुवा भएको थियो । यो मापनबाट जानकीले पाएको पदवीले नै जानकी स्वास्थ्य क्षेत्रमा आफुलाई अब्बल बनाउने प्रयास गरिरहेको देखिन्छ ।
यहाँका सबै स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने स्वास्थ्य सेवा तथा प्ररामर्शलाई पनि उत्कृष्ठ बनाउँदै लगिएको छ । ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट प्रदान हुँदै आएको सेवालाई सेवाग्राहीमुखि बनाउने प्रयास गरिएको र निरन्तर यो कुरामा हामी तयार रहने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले बताए ।
जिल्लाका ८ वटा स्थानीय तहमा गरिएको स्वास्थ्य क्षेत्रको मापनमा जानकी गाउँपालिका ९५.०७ अंक पाएर जिल्लामै दोस्रो हुन सफल भएको हो भने डुडुवा गाउँपालिका जानकीभन्दा ०.३ अंक बढीले जिल्लाकै प्रथम भएको हो ।
आमा सुरक्षा, सुत्केरी सेवा प्रोटोकल अनुसार बर्थिङ्ग सेन्टरमा सुत्केरी, घरमै जाँच, खोप सेवा, ५ बर्षमूनिका बालबालिकालाई दिइने खोप सेवाहरु, परिवार नियोजन सेवा, झाडापखाला नियन्त्रण, सरुवा रोग नियन्त्रण कार्यक्रम, एचआइभी तथा यौन रोगहरुका सूचकहरुमा भएको मापनका आधारमा पालिकाको स्वास्थ्य क्षेत्रले सर्वाधिक अंक पाई दोस्रो बनेको स्वास्थ्य शाखा प्रमुख रानाको भनाई छ ।
यहाँका जनतालाई विभिन्न रोगका संक्रमणबाट बचाउनका लागि वडास्तरमा रहेको स्वास्थ्य संस्थाहरुमध्ये जानकी गाउँपालिका, साइगाउँ स्वास्थ्य चौकी, बेलभार स्वास्थ्य चौकी, इन्द्रपुर स्वास्थ्य चौकी, खजुराखुर्द स्वास्थ्य चौकी, बेलहरी स्वास्थ्य चौकी र गनापुर स्वास्थ्य चौकी गरी ३८ जनाको दरबन्दी रहेकोमा ४४ जनाको पदपूर्ति भएको र जसमध्ये ४ जना करारमा रहेको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।
स्वास्थ्यलाई ठुलो सहयोग पुर्याउने खोपहरुमा जानकी पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भइसकेको छ भने खुला दिसामुक्तसमेत घोषणा भइसकेको छ । पालिकाभर तीन वटा बर्थिङ्ग सेन्टर (प्रसुति गृह)मा महिलाहरुको प्रजनन स्वास्थ्यको सेवा प्रदान गर्दै आएको छ भने एउटा स्वास्थ्य संस्थामार्फत प्रयोगशालाका सेवाहरु दिँदै आएको छ ।
यस्तै स्वास्थ्य अन्तर्गतकै प्रमुख मानिने खोप सेवालाई सहजै पुर्याउनका लागि ३३ वटा खोप क्लिनिकमार्फत सेवा बिस्तार गरिरहेको छ भने १७ वटा स्थानमा गाउँघर क्लिनिक सेवा सञ्चालन गरिएको छ । यो कार्यलाई सहज र समयमै प्रदान गर्नका लागि ८१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु सक्रिय छन् ।
आर्थिक वर्ष २०७७/२०७८ को प्रगति प्रतिवेदनअनुसार तीन वटा स्वास्थ्य संस्थाहरुले सय प्रतिशत लक्ष्य पुरा गरेका छन् । तथ्यांकअनुसार साइगाउँ स्वास्थ्य चौकी, बेलभार स्वास्थ्य चौकी र गनापुर स्वास्थ्य चौकीले लक्षित संख्यामा सेवा पुर्याएको छ ।
आर्थिक वर्ष २०७७/२०७८ मै यहाँका स्वास्थ्य संस्थाहरुमा प्रतिदिन १०७ जनाले स्वास्थ्य सेवा उपभोग गर्ने गरेका छन् । गाउँघर क्लिनिकमार्फत ३२.५ प्रतिशत, खोप क्लिनिकमार्फत ३२.६ प्रतिशतले सेवा उपभोग गर्ने गरेको देखिएको छ भने प्रतिमहिना स्वास्थ्य स्वयंसेविकाबाट सेवा लिनेको संख्या औषतमा ३६.९ प्रतिशत छ ।
खोप कार्यक्रमहरुमा हालसम्मको विवरण हेर्दा सबैमा सेवाग्राहीको संख्या बढेको देखिन्छ अर्थात प्लसमा छ । आर्थिक वर्ष २०७७/२०७८ को हालसम्मको प्रतिवेदन अनुसार बिसिजी ११५.२ प्रतिशत, डिपिटी हेप बि हिब तीन ११६ प्रतिशत, ओपिभी तीन १०८.९ प्रतिशत र पिसिभि तीन १०८.१ प्रतिशत रहेको छ ।
त्यस्तै जेइ ९७.२ प्रतिशत, दादुरा रुवेला खोप दुई १०३.२ प्रतिशत, टिडी दुई र प्लस दुई १००.४ प्रतिशत, पूर्ण खोप १०४.१ प्रतिशत, डिपिटी हेप बि १ दादुरा रुवेला दोस्रोबीचको ड्रपआउट दर भने ०.२८ प्रतिशत र बिसिजी खोप र दादुरा रुवेला पहिलो खोप पहिलोबीचको ड्रपआउट दर ६.६ प्रतिशत रहेको छ ।
दलबहादुर राना, स्वास्थ्य शाखा प्रमुख, जानकी गाउँपालिका
यस्तै सुरक्षित मातृत्व कार्यक्रमलाई पनि सबल बनाउँदै लगेको देखिएको छ । आर्थिक वर्ष २०७७/२०७८ को हालसम्मको प्रतिवेदन अनुसार प्रोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ११२.९, प्रोटोकल अनुसार ४ पटक गर्भवती जाँच गराउने गर्भवती महिलाहरुको प्रतिशत ९२.७, संस्थागत प्रसुति दर ५०.२ प्रतिशत रहेको छ ।
साथै दक्ष स्वास्थ्यकर्मीद्धारा प्रसुति भएको दर ५०.२ प्रतिशत नै रहेको, प्रोटोकल अनुसार ३ पटक सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ८०.५, संस्थागत सुत्केरीमध्ये आमा सुरक्षा प्रोत्साहन भत्ता लिने १०० प्रतिशत छन् भने संस्थागत सुत्केरीमध्ये ४ पटक गर्भ जाँच गराएपश्चातको प्रोत्साहन भत्ता लिनेको प्रतिशत पनि १०० नै रहेको देखिएको छ ।
स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा नै आर्थिक वर्ष २०७७/२०७८ को हालसम्मको प्रतिवेदन अनुसार मातृ मत्यु हुनेको संख्या ५ पुगेको छ भने नवजात शिशु मृत्यु संख्या ४ पुगेको र जम्मा मृत जन्म संख्या ५ रहेको उल्लेख छ । परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर १५.१ प्रतिशत रहेका छन् ।
प्राटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ११२.९, गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ९२.७ रहेको छ । परिवार योजना कार्यक्रमको मुख्य सूचकहरुको अवस्था अनुसार आर्थिक वर्ष २०७७/२०७८ को हालसम्मको प्रतिवेदन अनुसार डिपोको नयाँ प्रयोगकर्ता ४७६ रहेको छ ।
त्यस्तै पिल्सका नयाँ प्रयोगकर्ता २२४, आयुसिडीका नयाँ प्रयोगकर्ता ५ जना, इम्प्लान्टका नयाँ प्रयोगकर्ता १५६, कन्डमका हाल प्रयोगकर्ता ५१६.६ प्रतिशत, पिल्सका हाल प्रयोगकर्ता ४३२, डिपोका हाल प्रयोगकर्ता ५७०, आयूसिडीका हाल प्रयोगकर्ता १४८, इम्प्लान्टका हाल प्रयोगकर्ता ५५३, बन्ध्याकरणका हाल प्रयोगकर्ता ५६ र कण्डम बितरण संख्या ७७४९० रहेको तथ्यांकमा उल्लेख छ ।
यसैगरी अन्य रोगहरुको पहिचानको प्रयाससमेत गरिएको देखिएको छ । आर्थिक वर्ष २०७७/२०७८ को कर्तिक अन्तिमसम्मको प्रतिवेदन अनुसार औलो रोगको पहिचानका लागि १७२ जनाको रगत संकलन गरिएको छ । क्षयरोगी बिरामी पत्ता लागेको दर १२०.३६ रहेको छ भने क्षयरोगको उपचार सफलता दर ८६.२ रहेको छ र २ जनाको मृत्यु भएको छ ।
यसैगरी कुष्ठरोगको रोगको प्रकोप दर प्रति हजारमा ६.७१ रहेको छ । नयाँ केष्ठरोगी बिरामीको संख्या ३२ जना रहेको देखिएको छ भने कुष्ठरोगको ग्रेड २ असमर्थता दर ३.४ रहेको छ । यसरी गाउँपालिकामा कोरोना संक्रमितको जम्मा संख्या ३१८ जना रहेको स्वास्थ्य शाखा प्रमुख रानाले जानकारी दिए ।
यस्तै पालिकाभर ८४ वर्षमाथिका ९३ जना जेष्ठ नागरिकहरुको उपचार गरिएको छ । स्वास्थ्य संस्था अन्तर्गत हेर्दा साइगाउँ स्वास्थ्य संस्थामार्फत ९ महिला र ४ पुरुष, बेलभार स्वास्थ्य संस्थामार्फत ११ महिला र ७ पुरुष तथा इन्द्रपुर स्वास्थ्य संस्थामार्फत ७ महिला र ३ पुरुषले उपचार सेवा पाएका छन् ।
त्यस्तै खजुराखुर्द स्वास्थ्य संस्थामार्फत ९ महिला र ११ पुरुष, बेलहरी स्वास्थ्य संस्थामार्फत ६ महिला र ७ जना पुरुष र गनापुर स्वास्थ्य संस्थामार्फत ११ महिला र ८ जना पुरुष गरी ५३ जना महिला र ४० जना पुरुष जेष्ठ नागरिकले उपचार सेवा पाएको स्वास्थ्य शाखाका सिनियर अहेव मेघराज बरालले बताए ।
उनका अनुसार पेशागत स्वास्थ्य अवस्थामा इँट्टा भट्टामा काम गर्ने करिब अन्दाजी ६०० जना श्रमिकमध्ये १२ जना, सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने अन्दाजी २०० जना श्रमिकमध्ये २ जना र अन्य ठुला फ्याक्ट्रीमा काम गर्ने अन्दाजी १ हजार १२० जनामध्ये २८ जनाले सेवा लिएका छन् ।
पालिकाले आफ्ना जनताको मात्र नभएर आफ्नो सेवा क्षेत्रमा कामको सिलसिलामा आएका व्यक्तिहरुलाई समेत सहज रुपमा स्वास्थ्य सेवा पुर्याएको देखिन्छ । माथि उल्लेखित कार्यक्रम तथा गतिबिधिमार्फत जानकी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा आफुलाई नमूना उन्मुख बनाएको देखिएको हो ।
।