सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

फत्तेपुरमा जिल्लाकै नमूना ‘स्मार्ट कृषि गाउँ’

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ७ फत्तेपुरमा कार्यान्वयनमा रहेको स्मार्ट कृषि गाउँ कार्यक्रम जिल्लाकै उदाहारणीय बनेको छ । यहाँको कार्यक्रमले जिल्लाकै नमूना भन्दै किसानहरुलाई हौसला प्रदान गर्न सरकारीस्तरबाट पुरस्कारसमेत प्रदान गरिएको छ ।

जिल्लाकै नमूना स्माट कृषि गाउँ कार्यक्रमका रुपमा रहेको भन्दै २०७८ को असारमा उत्कृष्टताको पुरस्कार प्राप्त भएको कार्यक्रमका अध्यक्ष चक्रबहादुर थारुले बताए । यहाँ लागु भएको स्मार्ट कृषि गाउँ कार्यक्रम २०७८ मा तेस्रो वर्षमा प्रवेश गरेको छ ।

कार्यक्रम शुरु भएको वर्षमा भकारी सुधार, पशुलाई बस्ने र गोठ व्यवस्थापन तथा गुणस्तरीय र सुरक्षित मल र पशुको पिसाबको उपयोगकामा केन्द्रित भएको उनले बताए । अध्यक्ष चक्रबहादुरका अनुसार दोस्रो वर्षमा उत्पादनलाई दोब्बर बृद्धिमा परिणत गर्नका लागि आधुनिक तरिकाले मकै लगाउने मेसिन खरिद गरिएको थियो ।

मानिसले काम गर्दा ढिलो, समय बढि खर्च हुने र खर्च पनि बढ्ने लाग्ने र त्यो अनुसार उत्पादन समेत नहुने भएकाले मेसिनको आवश्यकता देखिएका कारण आधुनिक मेसिन खरिद गरिएको अध्यक्ष थारुको भनाई छ ।

‘मानिसले एक घण्टामा काम गर्दा मेसिनले गर्ने कामको पाँच प्रतिशतसमेत गर्न गाह्रो हुन्छ,’ अध्यक्ष चक्रबहादुरले भने, ‘मानिसले दुई दिनमा गर्नेका मेसिनले एक घण्टामै गरिदिन्छ, त्यस कारण मेसिन बढी उपयोगी देखियो ।’

यस्तै कृषि कर्मलाई सहज बनाउनकै लागि टेक्टर, आलु लगाउने मेसिन, खन्ने मेसिन, मकै गोड्ने मेसिन पनि खरिद गरेको छ । कार्यक्रमले उत्पादनलाई आधुनिक तरिकाले कसरी बृद्धि गर्न सकिन्छ र त्यसका लागि के कसरी कृषि गर्ने मापदण्ड अनुसार नै मेसिनहरु खरिद गरिएको राप्तीसोनारी गाउँपालिकाद्द७ का वडाध्यक्ष रामलखन थारुले बताए ।

स्मार्ट गाउँ कृषि कार्यक्रम अन्तरगत यहाँको ७० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । त्यस्तै हिउँदमा ७० हेक्टरमै आलु तोरी लगाइएको थियो र शुरुकै वर्षमा ३५ हेक्टरमा मकै पनि लगाइएको थियो । कार्यक्रमकै क्रममा तेस्रो वर्षमा राम्रो भए पनि अन्य कृषि औजार पनि खरिद गरिएको छ ।

यहाँको स्मार्ट कृषि गाउँ कार्यक्रम नमूना हुनुमा धेरै कुराले सहयोग पुर्याएको छ । पहिलो कुरा आधुनिक औजारको प्रयोग गरेर खेती शुरु गरिएको र दोस्रो कुरा सिँचाइ सुबिधा भएको, प्राकृतिक र भौतिकरुपले नै सुबिधा युक्त भएको देखिन्छ ।

बैशाख र जेठ महिनामा प्राकृतिक श्रोतहरु सुक्न थालेपछि भने खेतीका लागि अलिक गाह्रो हुने गरेको स्मार्ट कृषि गाउँ कार्यक्रमका सचिव खोजलाल थारु बताउँछन् । उनका अनुसार यस कार्यक्रममा सहभागि भएका कृषकहरु निकै मेहनतका साथ लागिरहेका छन् ।

‘कुनै पनि काममा जबसम्म सहभागीको सक्रियता देखिँदैन तबसम्म उपलब्धी पाउन गाह्रो हुन्छ,’ सचिव खोजलालले भने, ‘सहभागीको मेहनत र परिश्रमले नै उपलब्धी पाउन सहज बन्छ । यहाँको कार्यक्रम नमूना बन्नुमा सहभागीहरुको पनि ठुलो सहयोग रहेको छ ।’

जेठ, बैशाखमा हुने सिँचाइको समस्या समाधानका लागि बैकल्पिक उपाय अपनाइएको छ । स्मार्ट कृषि कार्यक्रममा सहभागी सबै किसानलाई पुग्ने गरी २० वटा बोरिङ्गको व्यवस्था गरिएको छ । जसले पानीको अनिकाल भएका बेला सबैको खेतमा सहजै सिँचाइको सुविधा पुर्याउन सकिन्छ ।

यहाँको स्मार्ट कृषि गाउँ कार्यक्रममा ११० घरधुरी सहभागी छन् । यस कार्यक्रममा ५० घरधुरीले मात्रै सहभागिता जनाउन पाउने मापदण्ड भएको भए पनि स्थानीय किसानको चासो भएपछि धेरैलाई समेटन बाध्य भएको अध्यक्ष चक्रबहादुरले स्पष्ट पारे ।

कार्यक्रम सञ्चालनका लागि शुरुमा ३१ लाख अनुदान सरकारले प्रदान गरेको थियो । त्यस्तै दोस्रो वर्ष १७ लाख प्राप्त भएको थियो भने अहिले सञ्चालित तेस्रो वर्षमा २७ लाख रुपैयाँ अनुदानमा सरकारले उपलब्ध गराएको छ ।

यस कार्यक्रममार्फत उत्पादन भएका खाद्यन्न स्थानीयस्तरमै बेच्नेसमेत गरिएको छ । स्थानीयस्तरमा रहेको साकार कृषि सहकारीले समेत यसमा आबद्ध किसानलाई पुरस्कृत गरेको छ । सहकारीले अनुदानमा उपलब्ध गराउने धान र गहुँको बीउ प्रदान गर्ने गरेको र सोही बीउमार्फत अन्यलाई उपलब्ध गराउने स्वयं सहकारीले लिने गरेको छ ।

किसानले राम्रो गरेको भन्दै पहिलो पटक २४ हजार नगदले पुरस्कृत गरेको थियो भने दोस्रो पटक २६ हजार २५० रुपैयाँले पुरस्कृत गरेको अध्यक्ष चक्रबहादुरले जानकारी दिए । ‘सहकारीबाट मल बीउ ल्याएर रोप्ने गरेका छौं,’ अध्यक्ष चक्रबहादुरले भने, ‘त्यही उत्पादन सहकारीलाई फिर्ता गर्ने गर्छौं ।’

यसरी मुल बीउ राम्रो तयार भएका कारण सहकारीले पुरस्कृत गरेको छ । कार्यक्रमका सचिव खोजलाल नै गहुँको बीउ उत्पादनका लागि पुरस्कृत भएका छन् । उनी १४ हजार रुपैयाँले पुरस्कृत भएका हुन् । यस वडामा जिल्लामै नमूना कृषकहरु रहेकाले वडा कार्यालयले पनि कृषिका लागि थप योजनाहरु अघि सारेको छ ।

वडाध्यक्ष रामलखन थारुका अनुसार वडाको सबै ठाउँमा रहेका कृषकहरुलाई खेतीपातीका लागि सिँचाइ सुविधा बिस्तार गर्ने उद्देश्यले कृषि बिस्तार गर्ने योजना रहेको छ । ‘कृषकलाई आधुनिक कृषि प्रविधिको सुविधा दिएसँगै यस वडाको अन्न उत्पादन वृद्धिमा सहयोग पुगेको छ,’ वडाध्यक्ष रामलखनले भने ।

उनका अनुसार जबसम्म कृषकलाई आवश्यक मात्रामा मल, बीउ उपलब्ध हुन सक्दैन, तबसम्म उत्पादन राम्रो हुनै सक्दैन, त्यसैले आधुनिक तरिकाबाट खेतीपाती गर्नका लागि किसानलाई सहज हुने खालको योजनाले उनीहरुको जीवनयापनमा समेत सुधार आउँछ ।

उनले नहर नभएको ठाउँमा डिप बोरिङ्ग जडान गर्ने पनि वडाध्यक्ष रामलखनले बताए । स्मार्ट कृषि गाउँ कार्यक्रमले यहाँका किसानलाई कृषि कर्मका लागि उत्साहित बनाएको वडाध्यक्ष रामलखनले बताए ।

‘स्मार्ट कृषि गाउँ कार्यक्रम आएपछि यहाँका किसान उत्साहित भएका छन्,’ वडाध्यक्ष रामलखनले भने, ‘आधुनिक खेती प्रणालीले कृषकको आम्दानी पनि बढेको छ ।’ सिँचाइ, प्रविधि, जलवायु, पोषक तत्व, बजार र अन्तरसम्बन्धित विषयहरुमा कृषि क्षेत्रलाई स्मार्ट बनाउन कार्यक्रम लागु भएको वडाध्यक्षको भनाई छ ।

‘देशकै नमुना स्मार्ट कृषि गाउँ बनाउने योजना रहेको छ,’ वडाध्यक्ष रामलखनले भने, ‘नागरिकको जीवनस्तरमा सुधार ल्याउन पनि स्मार्ट कृषि गाउँ कार्यक्रम कोशेढुङ्गा सावित भएको छ ।’ जिल्लामै नमूना स्मार्ट कृषि गाउँ कार्यक्रमले यस वडालाई राम्रो बनाउन थप सहयोग पुगेको छ ।

सरकारले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत किसानको परम्परागत कृषि कार्यलाई सहज बनाउँदै आधुनिक कृषि प्रणालीलाई अघि बढाउन प्रोत्साहित गरेको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिले कृषकहरूलाई आवश्यकताअनुसार कृषि प्रविधि र मल, बीउ वितरण गर्दै आएको छ ।

स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण र बिक्री वितरणमा सहयोग पु¥याउन समिति क्रियाशिल रहेको समितिका अध्यक्ष चक्रबहादुरले बताए । ‘कृषकलाई व्यावसायिक कृषिमा आकर्षित गर्दै कृषकले आर्थिक र प्राविधिक सहयोग पाउँदा उनीहरुमा निकै प्रोत्साहन र उत्साह बढेको छ,’ अध्यक्ष चक्रबहादुरले भने ।

प्रदेश सरकारको उक्त कार्यक्रम लागु भएसँगै स्थानीय तहले पनि स्मार्ट कृषि कार्यक्रमलाई भरपुर सहयोग गरिरहेको पनि राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखनको भनाई छ । वडाध्यक्ष रामलखनले भने, ‘प्रदेश सरकारले सहयोग गरेपछि स्थानीय सरकारलाई पनि थप काम गर्नका लागि हौसला मिल्यो ।’

उनले कार्यक्रम लागु भएपछि यहाँका कृषकहरुले सरकार हाम्रै लागि रहेछ भन्ने अनुभव गर्न पाएको पनि बताए । उनले भने, ‘कार्यक्रम लागु भएसँगै कृषकको आम्दानीमा बढ्न थालेको उहाँहरु खुसी हुनुहुन्छ ।’ कृषि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर बनाउन यो कार्यक्रम प्रभावकारी मानिएको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि निकै उत्साहित बनेका यहाँका कृषकहरुको सक्रियताकै कारण यो कार्यक्रम जिल्लामै नमूना र प्रभावकारी बनेको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनले कृषि क्षेत्रको औद्योगिकीकरण, बजारीकरण, नाफामुखी र दिगो कृषि विकास गरी कृषकहरूको आयस्तर वृद्धि गर्न सफल भएको पनि वडाध्यक्ष रामलखनले बताए ।

‘एक निर्वाचन क्षेत्र, एक स्मार्ट कृषि गाउँ’को लक्ष्य अनुसार यो कार्यक्रम सञ्चालनका लागि विभिन्न मापदण्ड तय गरिएका छन् । जसका लागि स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन निर्देशिका २०७५ समेत निर्माण गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ०८:५५