सूचनाको शक्ति - The Power Of Information

        

समाचार

हुलाकी सडक विस्तारपछि नरैनापुरमा जग्गाको मूल्य बढ्यो

बाँके । बाँकेको बघौडासम्म कालोपत्रे सडक पुगेपछि अहिले सो सडक वरिपरि धेरै ठाउँमा बजार विस्तार भइरहेको छ भने जग्गाको मूल्य पनि एकाएक वृद्धि भएको छ । सो सडक वरिपरिका क्षेत्रका बजार विस्तार हुनुका साथै ठाउँठाउँमा बस्ती निर्माण हुन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

उनले सडकको वरि परि बजार विस्तारसँगै बस्ती निर्माण हुन थालेपछि बाँझो रहने गरेका खेत घडेरीमा बिक्री भइरहेकाले मूल्य पनि आकासिँदै गएको बताए । उनका अनुसार केही वर्ष पहिलेसम्म सो सडक आसपासका जग्गा एक लाख रुपैयाँ प्रतिबिघामा पनि कसैले नकिन्ने गरेकोमा अहिले एक कठ्ठालाई नै लाख रुपैयाँ पर्न थालेको छ ।

उक्त सडक खण्डको बीचमा पर्ने कम्दी, फत्तेपुर, मटेहिया, गङ्गापुर, नरैनापुर र लक्ष्मणपुर बजारमा परिणत भइरहेको नरैनापुरका स्थानीय रमेश गोडियाले बताए । बस्ती विस्तारसँगै यहाँ घर जग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको गोडियाले बताए । गाउँपालिकाका विभिन्न गाउँमा घरघडेरी किन्नेको संख्या वृद्धि भएको छ ।

‘पहिले यहाँ व्यापार पनि खासै थिएन, अहिले सडक जोडिएपछि जग्गा कारोबारदेखि अन्य व्यापार व्यवसाय समेत फस्टाएको छ,’ उनले भने । केही वर्षअगाडि सरकारी रेटभन्दा सस्तोमा जग्गा बेच्न चाहे पनि चर्को मूल्य भयो भन्दै पन्छिने ग्राहकहरु सडक पुगेसँगै जग्गाको भाउ पनि दिनप्रतिदिन बढ्न थालेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ०८:३६