सूचनाको शक्ति - The Power Of Information

        

बारामा रथले कुल्चिएर १३ जना घाइते, २ जनाको मृत्यु

बारा । गएराति बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिकामा बेहुला लिएर निस्किएको रथले किचेर २ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराकै आदर्शकोतवाल गाउँपालिका बतराकी १६ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका जानकीनगरकी २५ वर्षीया बालकुमारी राम रहेका छन् ।

उनीहरुको घटना स्थलमै मृत्यु भएको हो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको बाराको कलैया र विरगन्जमा उपचार भइहरको छ । जन्ती जानुअघि स्थानीय मन्दिरमा पुगेर फर्किने क्रममा रथ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

अचानक तीव्र गतिमा गुड्दा रथको अगाडी रहेका मानिसलाई कुल्चिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थानीय सियाराम महरा चमारको बिहेका लागि चार पाङ्ग्रे रथ गाउँमा ल्याइएको थियो ।

रथ सञ्चालक फरार र २ जना चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १२:१९