सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक समृद्धि

सुधारिँदै शिक्षा, बालमैत्री बन्दै जानकीका विद्यालय

बाँके । बाँकेको जानकी गाउँपालिका, संघीय संरचना हुनुअघि विकासको अवस्थामा एकदमै पछाडी परेको क्षेत्र थियो । त्यतिबेला नेपालगन्ज बजारसँग जोडिएका भए पनि गाबिसहरुमार्फत जनतामा सेवा सुविधा प्रदान हुँदै आएको थियो ।

संघीयतासँगै ८ वटा गाविसलाई गाभेर जानकी गाउँपालिका निर्माण भयो । जानकी गाउँपालिकाका ६ वटै वडा नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएका छन् । जुन नेपालगन्जको पूर्वी सीमा क्षेत्रसँग जोडिन्छन् ।

नेपालगन्जसँग सीमा जोडिएको भए पनि यहाँका क्षेत्रहरु अझै ग्रामीण छन् । धेरै कुरामा अझै गाउँपालिकामा आम नागरिकले सोचेकोजस्तो विकास हुन सकेको छैन । धेरै कुराहरु सुधार गर्न गाउँपालिका प्रयासरत देखिन्छ ।

अन्य विकासजस्तै शिक्षामा पनि गाउँपालिका भएपछि नै यहाँका सामुदायिक विद्यालय बल्ल माध्यमिकस्तरका कायम भएका छन् । त्यो पनि भनेजस्तो हुन सकेको छैन ।

गाउँपालिका निर्माणपछि यहाँका सामुदायिक विद्यालयमध्ये जोगागाउँमा पहिलेदेखि मावि भए पनि वडा नं. १ स्थित आधारभूत विद्यालय पनि शिवपुरी माध्यमिक स्तरमा कायम भएको छ ।

यस्तै वडा नं. २ बन्जारेगाउँस्थित आधारभूत विद्यालय बन्जारेगाउँ माध्यमिक स्तरमा कायम गरिएको छ भने वडा नं. ४ स्थित जानकी र माध्यमिक विद्यालय खजुराखुर्द र वडा नं ६ स्थित भाटनपुर गाउँमा माध्यमिक भाटनपुर रहेको छ ।

५ वटा माध्यमिक विद्यालय, २ वटा आधारभूत विद्यालय र १७ वटा प्राथमिक विद्यालय गरी २४ वटा सामुदायिक विद्यालय यस पालिकामा रहेको शिक्षा शाखाको तथ्यांकमा उल्लेख छ ।

जनसहयोग आधारभूत विद्यालय गिजरामा अवस्थित छ भने आधारभूत विद्यालय गुरुवागाउँमा अवस्थित छ । यस्तै १४ वटा मदरसा, १ वटा गुरुकुल र ४३ वटा प्रारम्भिक बालविकास केन्द्र रहेका छन् ।

यस्तै पालिकाभित्र सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयको समेत उपस्थिति रहेको देखिन्छ । यहाँ ८ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । विद्यार्थीहरुको ज्ञानलाई गुणस्तरीय बनाउन गाउँपालिका शिक्षा शाखाले विभिन्न क्रियाकलापलाई जोड दिएको छ ।

शिक्षा क्षेत्रको विकासका लागि मुख्यतया गाउँपालिका शिक्षाको नेतृत्वमै विभिन्न गतिविधिहरु सञ्चालन गर्नुपर्ने हुन्छ । जबकी शिक्षा शाखालाई चलायमान बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने गाउँपालिकाका जनप्रतिनिधिको हो ।

यहाँ परम्परागत शिक्षण कार्यलाई आधिुनिकतासँगै अगाडी बढाउनका लागि शिक्षा क्षेत्रको विकासमा जोड दिनु पनि आवश्यक छ । शिक्षा क्षेत्रमा भएका समस्या समाधानबिना आधुनिकतामा जान पनि सकिँदैन ।

प्रतिभा ओली खड्का, शिक्षा शाखा प्रमुख, जानकी गाउँपालिका ।

गाउँपालिका शिक्षा शाखा प्रमुख प्रतिभा ओली खड्का अनुसार गाउँपालिकाभित्रका विद्यालयहरुमा नियमित कार्यक्रम सञ्चालनसँगै थुप्रै कुराहरुको व्यवस्थापन सञ्चालन भएको छ ।

भौतिक संरचनाको मात्रै विकास गरेर गुणस्तरीय शिक्षा बनाउन नसकिने हुँदा भवन बाहेकका भौतिक व्यवस्थापनलाई जोड दिएको शाखा प्रमुख खड्काले बताइन् । शाखाले हाल आइसिटी ल्याब व्यवस्थापनमा सक्रिय भएको छ ।

जसअन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भाटनपुरमा आर्थिक वर्ष २०७७ र २०७८ मा विज्ञान प्रयोगशालाको समेत व्यवस्था गरिएको छ । गाउँपालिका हुुनुअघि यस्ता भौतिक बस्तुहरुको व्यवस्थापन कहिल्यै भएको थिएन ।

करिब ६ लाख ५० हजारको लागतमा विज्ञान प्रयोगशालाको व्यवस्थापन गरिएको हो । यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शिवपुरीमा पनि आइसिटी ल्याब स्थापना गरिएको छ । यहाँ पनि ६ लाख ५० हजार रुपैयाँको लगातमा ल्याब स्थापना गरिएको हो ।

शैक्षिक गतिबिधि सञ्चालनका लागि पालिकाका २ वटा माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसमेत सञ्चालनमा छ । यहाँका ४ वटा विद्यालयहरु माध्यमिक विद्यालय भाटनपुर, माध्यमिक विद्यालय जोगागाउँ र जानकी माध्यमिक विद्यालयले यो कार्यक्रम माग गरेको भए पनि हाल २ वटा विद्यालय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जोगागाउँ र जानकी माध्यमिक विद्यालयमा सञ्चालित छ ।

यस कार्यक्रम अन्तर्गत माध्यमिक विद्यालय जोगागाउँमा विज्ञान प्रयोगशाला स्थापना र शैक्षिक सामाग्री व्यवस्थापन गर्ने कार्य भएका छन् भने जानकी माध्यमिक विद्यालयमा आइसिटी ल्याव स्थापना र शैक्षिक सामाग्री व्यवस्थापन कार्य भएको शिक्षा शाखा प्रमुख खड्काले जानकारी दिइन् ।

यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०७८/२०८९ अन्तर्गत अनुदानमार्फत ११ शिक्षक कर्मचारीको व्यवस्थापन गरेको छ । प्राथमिक विद्यालयमा २ जना, आधारभूत विद्यालयमा ४ जना र माध्यमिक विद्यालयमा ५ जना शिक्षक कर्मचारीलाई अनुदानमा राखेको छ ।

आर्थिक वर्ष २०७७/२०७८ मा ५८ लाख रुपैयाँ गाउँपालिकाले शिक्षा क्षेत्रका बिनियोजन गरेको थियो । जसमा ९ जना शिक्षक कर्मचारीलाई अनुदानमा राखिएको थियो ।

प्राथमिक विद्यालयतर्फ २ जना, आधारभूत विद्यालयतर्फ ४ जना र माध्यमिक विद्यालयतर्फ तीन जना शिक्षकलाई अनुदानमा व्यवस्थापन गरिएको शिक्षा शाखा प्राविधिक सहायक झुमीकुमारी वलीले जानकारी दिइन् ।

उनका अनुसार बालबालिकालाई विद्यालयमा टिकाई राख्नका लागि पालिकामा दिवा खाजा कार्यक्रम पनि सञ्चालन गरिएको छ । प्राथमिक तहका विद्यार्थीहरुलाई विद्यालयसम्म टिकाई राख्न र शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि यो कार्यक्रमले सहयोग पुर्याउने आशाका साथ सञ्चालन गरिएको सहायक प्राविधिक वली बताउँछिन् ।

यो कार्यक्रम पालिकाभरिका २४ वटा विद्यालय, २५ वटा बालविकास केन्द्र, १४ वटा मदरसा १ वटा गुरुकुल र समुदाय अन्तर्गत सञ्चालित १४ वटा बालविकास केन्द्रमा लागु गरिएको छ ।

खासगरी छात्राहरुलाई महिनावारीका समयमा पनि विद्यालयमा सहज वातावरण बनाउन सेनेटरी प्याड वितरण कार्यक्रम सञ्चालनमा रहेको छ । पालिकाका सामुदायिक विद्यालयका ६ कक्षादेखि माथिका किशोरीहरुका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।

यसैगरी यहाँका शैक्षिक सुधारका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ का लागि ५० लाख बजेट विनियोजन गरेको छ । यो बजेटमार्फत विद्यालयमा स्वास्थ्य तथा सरसफाईका कार्यक्रमदेखि शैक्षिक तालिमसम्मका हुने छन् ।

कोरोना महामारीको प्रकोप अझै पूर्णरुपमा अन्त्य नभएकाले त्यसको सावधानीका लागि अपनाउनुपर्ने आनीबानी सुधारका लागि स्वास्थ्य सामाग्री खरिद (साबुन, मास्क, सेनिटाइजर, इन्टरनेट जडान)का कार्य, किशोरीहरुलाई समस्या हुने कारणले विद्यालय छाड्ने बाध्यता हटाउनका लागि प्याड वितरण कार्यक्रमजस्ता सञ्चालन गरिनेछ ।

यस्तै विद्यालयलाई परिवर्तित समयअनुसार अघि बढाउने कार्य अन्तर्गत विद्यालयको भौतिकदेखि कर्मचारीसम्मको विवरण (अभिलेख) व्यवस्थापन कार्यका लागि ईमिस तालिमजस्ता कार्यक्रम सञ्चालन गरिने शिक्षा शाखाका प्राविधिक सहायक वलीले जानकारी दिइन् ।

यसका साथै विद्यालय सुधारका लागि आवश्यक देखिएका अन्य कार्यहरु पनि निरन्तर भइरहने भए पनि शैक्षिक सुधारका लागि शाखाले गतिशिलता लिएको जनाएको छ । गाउँपालिकाले विद्यालय आएका विद्यार्थीलाई निरन्तर कक्षामा टिकाउनका लागि पनि विभिन्न कोणबाट काम गरिरहेको छ ।

प्राथमिक तहमा विद्यार्थीको पहुँच करिब शतप्रतिशत पुर्याउने कार्यमा गाउँपालिका सफल भएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमीसरा धितालले बताइन् । उनले प्राथमिक तहमै बालबालिकाको सिकाइ उपलब्धी सतप्रतिशत पुर्याउन स्थानीय सरकार लागिपरेको बताइन् ।

स्थानीय सरकार आएसँगै प्राथमिक तहमात्रै होइन बालविकास क्षेत्र, निम्न मध्यामिक तह र माध्यमिक तहमा समेत विद्यार्थीको भर्ना दर ह्वात्तै बढेको काबा अध्यक्ष धितालको दावी छ । विद्यार्थीको सिकाइ उपलब्धी बढाउन सकारात्मक प्रयासहरु भइरहेको र शिक्षकहरु पनि विद्यालयप्रति इमानदार भएर आफ्नो भूमिकालाई थप प्रभावकारी बताउन लागिपरेको उनको भनाई छ ।

गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले भने, ‘प्राथमिक तह पूरा गर्ने बालबालिकाको संख्या र विद्यालय तहमा छात्रा संख्या बढ्नु निकै सकारात्मक उपलब्धी हो । पछिल्लो समयमा यहाँका विद्यालयमा छात्रसँगै छात्राको संख्या बढ्दै गएको छ । यसले अभिभावकहरु सन्तानको शिक्षाप्रति सचेत बन्दै गएको देखाउँछ ।’

उनका अनुसार विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकार मातहत आएसँगै शिक्षा सबैको पहुँचमा पुगेको छ । ‘स्थानीय सरकारले बालविकास र युवा शिक्षामा बढाएको लगानीले पनि शिक्षामा पहुँच बढाउन सफल भएको छ,’ प्रमूख प्रशासकीय अधिकृत रानाले भने ।

विद्यालय शिक्षामा महिला शिक्षकको अनुपातमा आएको सुधारले विद्यालयभित्र बालमैत्री वातावरणमा पठनपाठन गराउन पनि सहज भएको उनी बताउँछन् । ‘महिला शिक्षक विद्यालयमा बढेसँगै छात्रा संख्या पनि बढ्दै गएको छ,’ प्रमूख प्रशासकीय अधिकृत रानाले भने, ‘बालबालिकाले महिला शिक्षकसँग खुलेर समस्या राख्न थालेकाले यहाँका विद्यालय पनि बालमैत्री हँुदै गएका छन् ।’

अभिभावकमा पनि सचेतना बढेकाले सामुदायिक विद्यालयमा सुधार आउन थालेको उनको भनाई छ । यहाँका अधिकांश अभिभावकले छोराछोरीको गुणस्तरीय शिक्षामा महत्व दिन थालेका छन् । यसले पनि जानकीको समग्रमा शैक्षिक अवस्था सुधारिँदै गएको शिक्षा शाखा प्रमूख खड्काको भनाई छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १०:३७