सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

फत्तेपुर स्वास्थ्य चौकी ‘राप्तीपारिकै नमूना’

बाँके । बाँकेको बिकट भनेर चिनिने बघौडा क्षेत्र हो । बघौडा भन्ने बित्तिकै यस क्षेत्रबाहेकका नागरिकको मस्तिकमा सबैभन्दा पिछडिएको क्षेत्र, राप्ती नदीपारिको क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको अभाव भएकोजस्ता कुराहरुको कमी भएको क्षेत्रका रुपमा आउँछ । हो यही पिछडिएको क्षेत्रमा यस क्षेत्रकै सबैभन्दा पुरानो स्वास्थ्य चौकीका रुपमा रहेको छ, फत्तेपुर स्वास्थ्य चौकी ।

हालको नरैनापुर र राप्तीसोनारीको केही वडाहरुमध्ये सबैभन्दा पुरानो स्वास्थ्य चौकीका रुपमा यो स्वास्थ्य चौकी रहेको छ । साविकको १२/१४ वटा गाविसहरुमध्ये भौतिक पुर्वधारले सम्पन्न मानिएको यो स्वास्थ्य चौकीले यस क्षेत्रको जनताको स्वास्थ्य हेरचाहमा उल्लेख्य योगदान पुर्याएको देखिन्छ । राप्तीसोनारी गाउँपालिका वडा नं ७ मा रहेको यसले यस क्षेत्रमा नमूना कार्यहरु गरेको छ ।

यस क्षेत्रका नागरिकलाई स्वस्थ बनाउन सबैभन्दा पुरानो र सेवाका हिसाबले यसले नमूना कार्य गरेको देखिएको हो । स्वास्थ्य चौकीले आर्थिक वर्ष २०७७/०७८ मा उल्लेख्य नमूना कार्यहरु गरिरहेको छ भने धेरैभन्दा धेरै नागरिक लाभान्वित भएका छन् । स्वास्थ्य चौकीमै स्थापना गरिएको प्रसुति गृह (बर्थिङ्ग सेन्टर) २४ सैं घण्टा गर्भवती महिलालाई गुणस्तरीय सेवा उपलब्ध गराइरहेको छ ।

यस संस्थामा आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्ममा ३७१ जनाले सुत्केरी सेवा लिएका छन् । चालु आर्थिक वर्षको २०७८/०७९ को साउन अन्तिमसम्म ६८ जनाले सुत्केरी सेवा लिएका छन् । स्वास्थ्य चौकीबाट गर्भजाँच र सुत्केरी सेवा निरन्तर प्रदान भइरहेको छ । आर्थिक वर्ष २०७७/०७८ को पुसदेखि असारसम्म मात्रै ५७ जनाले सेवा लिएको स्वास्थ्य चौकीको विवरणमा उल्लेख छ ।

यो स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टर बाँके जिल्लाकै अब्बल रहेको स्वास्थ्य कार्यालय उत्कृष्ठ संस्थाको नामावलीमा रहेको छ । यस्तै यहाँका महिलाहरुमा जन्मान्तर तथा अनिच्छित गर्भको नियन्त्रणका लागि अस्थायी साधानहरु प्रयोग गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको देखिन्छ । स्वास्थ्य चौकीको विवरण अनुसार आर्थिक वर्ष २०७७/०७८ साउनदेखि असारसम्म १०६ जनाले पिल्सको प्रयोग गरेका छन् ।

यस्तै २४२ जनाले डिपो प्रयोग गरेका छन् । १६३ जनाले आइयुसिडी प्रयोग गरेका छन् र ३६९ जनाले इम्प्लान्ट प्रयोग गरेका छन् । यस्तै स्थायी साधन प्रयोग गर्नेको संख्या भने कम रहेको स्वास्थ्य चौकीको तथ्यांकमा उल्लेख गरिएको छ । २०७८ असारसम्म स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार १५ जना महिला र २ जना पुरुषले स्थायी साधन प्रयोग गरेका छन् ।

यस राप्तीसोनारी गाउँपालिकाको वडा नं ७ का नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि पनि स्वास्थ्य चौकीले बिभिन्न रणनीति अपनाइरहेको देखिन्छ । यहाँका ३ वर्षसम्मका बालबालिकालाई पोषण सेवा पु¥याउनका लागि २५१ जना नयाँ बालबालिकाको तौल गरिएको छ भने २८७ जनालाई बिसिजी खोप दिइएको स्वास्थ्य चौकीले जनाएको छ ।

फत्तेपुर स्वास्थ्य चौकीका अनुसार २९८ जनालाई डिपिडी हेवी खोप, २७४ जनालाई डिपिडी थर्ड, २७४ जनालाई पोलियो थर्ड, २५५ जनालाई पिसिभी फ्रि, ५३० जनालाई राड, ४९१ जनालाई एफ आई पि भि, २६० जनालाई निगल्स फस्ट, २०६ जनालाई निगल्स सेकेण्ड, २७० जनालाई जे एफ लगाइएको छ भने १३ देखि २३ महिनाका २०६ जनालाई पूर्ण खोप लगाइएको हो ।

यसैगरी २८१ जना नयाँ गर्भवतीलाई टिडी टु र १०८ जनालाई टिडी टु प्लस लगाइएको छ । यस्तै यो वडामा एक वर्षको अवधीमा ५ वर्षमूनिका ७३२ जना बालबालिकामा स्वासप्रस्वासको समस्या देखिएको छ । जसमध्ये ३५ जनामा निमोनियाका समस्या र ४४६ जनामा झाडापखालाको समस्या देखिएको छ । यस्तै गत एक वर्षमा २६ जना २० वर्षमूनिका किशोरी गर्भवती भएका छन् ।

स्वास्थ्य चौकीका प्रमुख मनोज मिश्राका अनुसार ३०५ जना २० वर्षमाथिका महिलाहरु गर्भवती भएका छन् । यसैगरी स्वास्थ्य सेवालाई वडापालिकाका सम्पूर्ण घरघरसम्म पु¥याउनका लागि स्वास्थ्य चौकीले गाउँघर चौकी र खोप चौकी सञ्चालनमा प्राथमिकता दिएको छ । यस वडाभित्र ३ वटा गाउँघर क्लिनिक र ४ वटामा खोप चौकी सञ्चालन गरिएको छ ।

यस्तै गत एक वर्षमा चार जना कुष्ठरोगी फेला परेका छन् र हालसम्म ३ जना निको भइसकेको स्वास्थ्य प्रमुख मिश्राले जानकारी दिए । उनका अनुसार १३ जना टिभिका बिरामी देखिएका छन् भने १३ जना निको भएका छन् । यसैगरी बाढि तथा डुबानको जोखिम रहेको यस वडामा औलो रोगको नियन्त्रण गर्न तथा निवारणका लागि पनि स्थानीयस्तरमै उत्कृष्ठ कार्य गरेको देखिन्छ ।

अन्य स्वास्थ्य संस्थाले हालसम्म नगरेको कार्य अन्तरगत स्थानीयस्तरमै रगत संकलन गरी २५१ जनाको औंलोको जाँच गरिएको छ । एउटा सानो स्तरको अस्पतालले दिने सेवा बराबर यो स्वास्थ्य चौकीले जनतालाई सेवा दिइरहेको छ । नमूना प्रसुति गृहमा यस वडाकै मात्रै नभएर नरैनापुर गाउँपालिकाको वडा नं ६ र राप्तीसोनारीको वडा नं ६ र ७ का महिलालाई प्रसुति सेवा दिइरहेको छ ।

सबैभन्दा राम्रो कुरा त के छ भने नरैनापुर गाउँपालिकाका गर्भवती महिलालाई पालिकामै प्रसुति सेवा सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएका सबै केशहरु यही स्वास्थ्य चौकीमा आउने गरेको स्वास्थ्य प्रमुख मिश्राले बताए । ‘प्रायः यही नै ति महिलाको सुरक्षित प्रसुति गराउने गरिएको छ,’ स्वास्थ्य चौकीका प्रमुख मिश्रााले भने, ‘एकाध केशमात्रै नेपालगन्ज रिफर हुने गरेका छन् ।’

यस्तै स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा पनि प्रदान गरिरहेको छ । यो वडाका मुख्य बिशेषता भनेको यो वडाका कुनै पनि महिला घरमा सुत्केरी हुँदैनन् । सबै महिला यस संस्थाको पहँचमा छन् । घरमा प्रसुति शून्य छ । ७ कठ्ठा ३ धुर जग्गा रहेको स्वास्थ्य चौकीको जग्गामा बर्थिङ्ग सेन्टर, स्वास्थ्यकर्मी आवास, स्वास्थ्य चौकी र कार्यालय प्रशासन सञ्चालित छ ।

स्वास्थ्य चौकीले एक वर्षमा ७८३ जना जेष्ठ नागरिकलाई सेवा प्रदान गरिएको छ भने सरदर वार्षिकरुपमा ७ हजार ९५२ जनालाई सेवा प्रदान गरिएको छ । स्वास्थ्य चौकीबाट प्रदान हुने सेवालाई सहज र गुणस्तरीय बनाउन विभिन्न संघसंस्थाको सहयोगमा कुरुवा घर निर्माण गरिएको छ । यस्तै सधैं डुबानको समस्या झेल्दै आएकाले पर्खाल निर्माण गरि उक्त समस्या कम गर्ने प्रयास गरिएको छ ।

चौकीले वडाभित्र बसोबास गर्ने गरिव, सिमान्तकृत तथा पछाडि परेका समुदाय भएका क्षेत्रमा आवश्यकताका आधारमा स्वास्थ्य सेवा दिँदै आएको छ । आधारभूत अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा, सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन वडापालिकाले पनि पहल गरिरहेको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले बताए ।

यसका साथै यस चौकीलाई बाँकेको पूर्वी क्षेत्रकै राम्रो स्वास्थ्य चौकीका रुपमा स्थापना गर्न वडा कार्यालयले पनि योजनाहरु अगाडी बढाएको छ । वडाले करिब ३ लाख विनियोजन गरेको छ भने कर्मचारी व्यवस्थापनका लागि सहयोग माग गरेको छ । वडाध्यक्ष थारुले यसलाई उत्कृष्ठ बनाउनका लागि प्रतिक्षालय बनाउने, स्वास्थ्य चौकी क्षेत्रलाई पिसिसी गर्ने योजना बनाएको बताए ।

हालसम्म विद्यालय भवनबाट खोप क्लिनिक सञ्चालनमा रहेकाले अब यसको आफ्नै खोप चौकीबाट सञ्चालन गर्नका लागि भवन निर्माण गर्ने योजना रहेको र उक्त बजेट आकष्मिक कोषबाट लगानी गर्ने तयारी गरिएको वडाध्यक्ष थारुले जानकारी दिए । उनका अनुसार वडापालिकाले स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन त्यसमा कार्यरतहरुको मनोबल उच्चसमेत योजना बनाएको छ ।

‘स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका कार्यहरु थप प्रभावकारी वनाइनुका साथै स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी स्वास्थ्यकर्मीको मनोवल बढाउने तथा स्वास्थ्य क्षेत्र सुशासन कायम गर्ने कार्यलाई प्राथमिकता दिइनेछ,’ वडाध्यक्ष थारुले भने । वडाले मातृ शिशु मृत्युदर नियन्त्रणका लागि स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि उत्प्रेरित गर्ने नीति पनि लिएको छ ।

‘स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाउन मातृ तथा नवशिशु स्वास्थ्य र पोषण स्थितिमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने आमाहरुलाई थप प्रोत्साहनको ब्यवस्था गर्नका लागि पनि पहल भइरहेको छ,’ वडाध्यक्ष थारुले भने । महिला स्वास्थ्य स्वयं सेविकाको सेवालाई थप प्रभावकारी बनाइने पनि वडाध्यक्ष थारुले बताए ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार ०९:२९