काठमाडौं । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ ।
मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रम सुरु भएको छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा तयारी पूरा भएको जानकारी दिएका छन् । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।
प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको सहायक प्रवक्ता धमलाले जानकारी दिए । सात वटा प्रदेशमा कुल दुई हजार २५ जना मतदाता छन् ।
यस निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । आयोगका अनुसार प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशतबढी मतपत्र पठाइएको छ । प्रदेश १ का मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मतदानको तयारी पूरा भए पनि बुथ निर्माणको कार्य मङ्गलबार मात्रै हुने जानकारी दिए ।
प्रदेश १ को दुई मतदान स्थलमा दुईवटा मतदान केन्द्र छन् । अधिकृत लम्सालले मङ्गलबार बिहान नै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूसँग छलफल गर्ने जानकारी दिए । मोरङ समाचारदाता महेन्द्र विष्टका अनुसार निर्वाचनका लागि विराटनगर महानगरपालिका–१३ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयलाई मतदान केन्द्र तोकेको छ ।
त्यसमध्ये बाली संरक्षण केन्द्रको कार्यालयको मतदान केन्द्रमा प्रदेश सभाका सांसदहरूले मतदान गर्नेछन् भने प्रदेश निर्वाचन आयोगको कार्यालयमा स्थानीय निकायका पदाधिकारीहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी मधेस प्रदेशमा समेत मतदानको तयारी पूरा भएको निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिइन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा मतदान हुनेछ । आयोगले जारी गरेको स्वास्थ्य निर्देशिकाबमोजिम मतदानको व्यवस्था मिलाउने र निर्वाचन कार्यालयले व्यवस्थापकीय पक्ष तयारी अवस्थामा राखेको उनले बताइन् । बागमती प्रदेशका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतदानको तयारी पूरा भएको र बुथ निर्माण मङ्गलबार साँझसम्म सकिने बताए ।
बागमतीमा राष्ट्रिय सभा सदस्यको मतदान हेटौँडामा हुनेछ । उनले दुईवटा मतदान केन्द्रमा आठ–आठ जना गरी १६ कर्मचारी खटाइने जानकारी दिए । कर्णालीका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदानका लागि सामग्री आइसकेको र तयारीसमेत अन्तिम चरणमा रहेको बताए ।
प्रदेश प्रहरीलाई सुरक्षाको जिम्मा
काठमाडौं । यहीँ माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकताअनुसार प्रहरी परिचालन गर्न सक्ने नेपाल प्रहरी कार्यालयले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय सुरक्षा र योजना नबनाएको नेपाल प्रहरी कार्यालय नक्सालका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए ।
‘भोली सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । उम्मेदवार भएका ठाउँहरुमा मतदाताको सङ्ख्या धेरै छैन,’ उनले भने, ‘त्यसकारण राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय सुरक्षा र योजना बनाएको हुँदैन । प्रदेशअन्तर्गत योजना बनाइएको छ ।’ सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकताअुनसार प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।
यसैगरी, प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी सातै प्रदेशमा कुल २०२५ मतदाता रहेका छन् । यता, आइतबार राति १२ बजेदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आयोगले मौन अवधि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने जनाएको छ ।
यसैगरी, आयोगले मौन अवधिभर एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वान प्रचार प्रसार गर्न नहुने जनाएको छ । मौन अवधिमा आयोगले उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ ।
साथै, निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन समेत दिएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।
।