बाँके । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर सुरु भएसँगै बाँकेलाई कोरोना ‘रेडजोन’ जिल्ला घोषणा गरिएको छ । जिल्लालाई ‘रेडजोन’ घोषणासँगै कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवाहरु आजदेखि बन्द गरिएको छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु आजदेखि बन्द गरिएको बाँकेका प्रमूख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीद्वारा सोमबार हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । सूचना अनुसार आजदेखि जिल्ला प्रशासन कार्यालय बन्द हुनेछ ।
प्रमूख जिल्ला अधिकारी खत्रीका अनुसार नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएको र केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परी हाल आइसोलेसनमा रहेकोले कार्यालय बन्द गरिएको छ ।
सेवाग्राहीको अत्याधिक भिडभाड भई कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलन सक्ने जोखिमसँगै सेवा प्रवाहमा कठिनाई भएको र केही कर्मचारीको रिपोर्ट आउन बाँकी रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि आजदेखि कार्यालय बन्द गरिएको जनाइएको छ ।
कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्धा लगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता÷नवीकरण हातहतियार नवीकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।
जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या ५०० नाघेपछि जिल्लालाई कोरोना ‘रेडजोन’ घोषणा गरिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा ६५० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
यसअघि नरैनापुर गाउँपालिकाका अधिकांश कर्मचारी र जनप्रतिनिधिमा संक्रमण देखिएपछि गाउँपालिकालाई बन्द गरिएको थियो । कोहलपुर नगरपालिकामा पनि धेरैलाई संक्रमण देखिएपछि सो कार्यालयका अधिकांश सेवाहरु पनि बन्द गरिएका छन् ।
।