सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोनाको ‘रेडजोन’मा बाँके, भोलीदेखि जिल्ला प्रशासन बन्द

बाँके । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर सुरु भएसँगै बाँके जिल्लालाई कोरोना ‘रेडजोन’ घोषणा गरिएको छ । जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या ५०० नाघेपछि जिल्लालाई कोरोना ‘रेडजोन’ घोषणा गरिएको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा ६५० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । जिल्लालाई कोरोना ‘रेडजोन’ घोषणासँगै कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ ।

कार्यालयकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । बाँकेका प्रमूख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीद्वारा हस्ताक्षरित सूचनामा भोली मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय बन्द रहने जनाइएको छ ।

प्रमूख जिल्ला अधिकारी खत्रीका अनुसार नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएको र केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परी हाल आइसोलेसनमा रहेकोले जनाइएको छ ।

साथै दकार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड समेत भई कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलन सक्ने जोखिम भई प्रवाहमा कठिनाई भएको र अन्य केही कर्मचारीको रिपोर्ट आउन बाँकी रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि भोलीदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको पनि सूचनामा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्धा लगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता/नवीकरण हातहतियार नवीकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १६:५५